मस्तिष्क पक्षाघात हुन नदिने हो भने यी खानेकुरालाई त्यागौँ

लोकपथ
2.4k
Shares

शरीरमा पक्षाघात मुख्य रूपमा मस्तिष्कको एक भागमा रक्त प्रवाह हुन बन्द भएपछि हुने गर्छ । यो क्रियाले मस्तिष्कको कोषहरूलाई नोक्सान गरिरहेको हुन्छ ।

पक्षाघात मूलतः अस्वस्थ कर खानेकुराको सेवन, मोटोपन र शारीरिक अभ्यासको कमीका कारण हुने गर्छ । यो बाहेक चिकित्सकहरूका अनुसार ब्लड प्रेसर, मुटुको समस्या, मधुमेह, कोलेस्ट्रोल जस्ता विभिन्न रोगका कारणले पनि पक्षाघात हुने सम्भावना बढ्ने गर्छ । यस्तै ध्रुमपान, मद्यपानको सेवन र तनावका कारणले पनि मानिसलाई पक्षाघात हुने सम्भावना बढी हुन्छ ।

चिकित्सकहरूका अनुसार नियमित रूपमा व्यायाम, सन्तुलित खानपिनले पक्षाघातको खतरालाई कम गर्न सकिन्छ । यस्तै पक्षाघातको सम्भावनालाई कम गर्न खानपिनको भूमिका विशेष हुने गरेको देखिन्छ । यदि शारीरिक अभ्यास गरे पनि केही खानेकुरालाई आफ्नो खानपिनमा समावेश नगर्ने हो भने पक्षाघात हुने सम्भावनालाई धेरै कम गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

नुन

नुनको अत्यधिक सेवनले पक्षाघात गर्ने सम्भावनालाई बढाउने गर्छ । नुनको सेवनका विभिन्न तरिकाहरू मध्ये प्याकेटमा आउने खानेकुरामा रहेको नुनको मात्रालाई अझ हानिकारक मानिन्छ । प्याक भएर आएका खानेकुराको सेवनले रक्तचापलाई अत्यधिक बढाउन मद्दत गर्छ । यस्ता खानेकुराको सेवनले रगतको धमनी, मस्तिष्क र मुटुमा धेरै असर गरिरहेको हुन्छ ।

त्यसैले प्रोसेस्ड र प्याक गरिएको खानेकुराको सेवनलाई सकभर नगर्नु नै राम्रो मानिन्छ । यदि दैनिक रूपमा अरू बेलाको भन्दा ५ ग्राम नुनको कम सेवन गर्ने हो भने हाइपर टेन्सन र पक्षाघातको समस्यालाई धेरै कम गर्न सकिन्छ ।

कोल्ड ड्रिंक्स

धेरैले प्यास लागेको बेला सफ्ट ड्रिंक्स वा अन्य कोल्ड ड्रिंक्स पिउने स्वभावका हुन्छन् । कतिपय व्यक्तिहरूको लेमनेड सोडा खाने बानी हुन्छ । ९ वर्ष सम्म भएको एक अनुसन्धानले के देखाएको छ भने जसले नियमित रूपमा डाइट सोडाको सेवन गरेका थिए उनीहरूमा पक्षाघात हुने सम्भावना ४८ प्रतिशतले बढेको पाइएको थियो ।

त्यसैले बोटलमा तयार पारिएका पेय पदार्थहरूको सेवन नगर्नु भनेकै पक्षाघातको जोखिमलाई कम गर्नु हो ।

प्रोसेस्ड खानेकुरा

यदि तपाईँले दिनको सुरुवात नै जङ्क र ट्रान्स फ्याट भएको खानेकुराबाट गर्नुहुन्छ भने तपाई आजैबाट सावधान हुनु राम्रो हुन्छ । खानपानको यो गलत शैलीले गर्दा नै पक्षाघात हुने सम्भावनालाई बढाउने गर्छ ।
जङ्क फुडमा ट्रान्सफ्याटको मात्रा धेरै नै हुन्छ । यसको सेवनले रगतमा एलडीएल नाम गरेको खराब कोलेस्ट्रोल बनाउन थाल्छ । यस्तो किसिमको कोलेस्ट्रोल रक्त नलीको भित्तामा टाँसिएर शरीरलाई सुन्नाउने काम गर्छ । सुन्निने क्रम बढ्दै गएपछि हृदयाघात हुने सम्भावना पनि बढ्दै जान्छ ।

पोलेको र प्रोसेस्ड गरेको मासु

बढ्दो सहरीकरणको कारण खानपिनमा पनि व्यापक परिवर्तन भइरहेको छ । अहिले पोलेको मासु र प्रोसेस्ड गरिएको मासुजन्य खानेकुराको खपत बढिरहेको छ ।

अहिले बजारमा प्रोसेस्ड मासुजन्य खानेकुरा हट डग -ससेस_ बेकन, सलामी जस्ता खानेकुरा प्रशस्तै पाउन थालेको छ । यस्ता किसिमका खानेकुरामा सोडियम नाइट्रेड र मासुलाई हत्तपत्त नगल्ने किसिमका पदार्थहरू मिसाइएको हुन्छ । यस्ता पदार्थको सेवनले रक्त नलीहरूलाई नोक्सान गर्ने गर्छ । यस्तो अवस्थामा यस्ता किसिमका खानेकुराको सेवन गरेमा पक्षाघात हुने सम्भावना अझ बढ्ने गर्छ ।

लामो समय खान हुने गरेर तयार पारिएको प्रिजर्भेटिभ र प्रोसेस्ड गरिएको खानेकुराको सेवनले रक्त नलीका भित्ताहरूलाई क्षति पुर्‍याइरहेको हुन्छ । त्यसैले पोलेको मासु, लामो समय खान भनेर तयार पारिएको मासुजन्य खानेकुराको सेवन नगर्नु भनेकै पक्षाघात हुन नदिनु पनि हो ।

पक्षाघातको जोखिमलाई कम गर्न प्रत्येक वर्षको अक्टोबर २९ तारिखलाई विश्व पक्षाघात दिवसको रूपमा मनाउँदै यो रोगको विषयमा विभिन्न किसिमका जनचेतना बढाउने कामहरू हुने गर्छ । यो वर्ष पनि पक्षाघातलाई कसरी कम गर्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?