रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

मस्को, रूस । रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद डुमाले भारी मतसाथ निर्वाचित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

संसदमा मेदभेदेभको पक्षमा ३७४ मत परेको थियो भने विपक्षमा मात्रै ५६ मत परेको क्रेमलिनले जनाएको छ । 

शक्तिशाली रूसी राष्ट्रपति पुटिनको समेत उपस्थिति रहेको संसदमा प्रधानमन्त्रीका लागि मतदान हुनुपूर्व आफूलाई मतदान गर्न सांसदसँग अनुरोध गर्दै मेदभेदेभले भन्नुभयो, “म देश विकासको लागि जुनकुनै काम गर्न अग्रसर रहनेछु । पुनः एक पटक मलाई प्रधानमन्त्री निर्वाचित गर्नुहोस ।” 

मेदभेदेभले सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?