लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

लोकपथ
104
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ ।

निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको बताए ।

एमालेको विरोधपछि केहीबेर स्थगित भएर फेरि सुरु भएको बैठकमा वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीकोतर्फबाट राज्यमन्त्री सहसराम यादवले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेस गरेका थिए ।

बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य रुन्धावती शर्माले गत हप्ता आएको वर्षाले किसानको धान बालीमा ठूलो क्षति पुर्‍याएकाले राहतको व्यवस्थाको माग गरे । उनले तत्काल किसानलाई उचित क्षतिपूर्ति दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?