प्राविधिक समस्यापछि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

लोकपथ
182
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ ।

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ । मर्मतका लागि भन्दै बिहीबारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो । विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार साँझ ५ बजेदेखि खुल्ला गरेको थियो । तर, छ महिनापछि आवेदन खुलेसँगै एकै चोटी चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए । उनले लाइसेन्स आवेदन खुल्ला गर्नासाथ करिब ९÷१० लाख मानिसले एकैचोटी फारम भर्ने प्रयास गर्दा बुधबारदेखि सर्भर पूर्ण रुपमा बन्द रहेको बताए । प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जती सक्दो चाँडो आवेदन खुलाउने उनले बताए ।

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाईनमा छन् । यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबै भन्दा बढी छ । उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरुको पालो पहिले आउने बताए । उनले हालै आवेदन दिएकाहरुको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिए ।

विभागले हाल नयाँ मापदण्ड अनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्ड अनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?