आफैंमाथि गोली प्रहार गर्न धर्मगुरुले लगाए भाडाका सुटर

  मोरङ -धार्मिक हिंसा बढाउने ध्येय राखी धर्मगुरु श्रीनिवास आचार्यले आफैंमाथि गोली प्रहारका लागि भाडाका मान्छे खटाएको प्रहरीले दाबी गरेको छ । काठमाडौंमा पक्राउ गरी विराटनगरमा आचार्यलाई सोमबार मोरङ प्रहरीले सार्वजनिक गरेको हो । आचार्यमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ गरिएका दुई जनाको बयानका आधारमा प्रहरीको यस्तो दाबी आएको हो।

२५ चैत, २०७४ मा विराटनगरको राम जानकी मन्दिर परिसरको श्रीमद् भागवत सप्ताह पुराण वाचनका लागि आएका बेला आचार्यमाथि गोली प्रहार भएको थियो ।

 

आचार्य सुनसरीको बराह नगरपालिका–६ चक्रघटीमा बस्छन् । ३१ वर्षीय आचार्य बाराका स्थायी बासिन्दा हुन् । केही दिनअघि मात्र न्युरो अस्पतालबाट डिस्चार्ज गरेपछि उनी काठमाडौं पुगेका थिए । गोली प्रहार भएपछि उनी तीन साता अस्पतालमा बसेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीका अनुसार गोली प्रहार गरिएको अभियोगमा चितवन भरतपुर–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट–५ का ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएको हो । एसपी बीसीले भने, ‘अनुसन्धानका क्रममा भाडाका मान्छे लगाएर आफैंमाथि गोली प्रहार गर्न लगाएको खुल्यो । धार्मिक हिंसा भड्काउने उद्देश्य पनि देखिन्छ ।’ घटना पत्ता लगाउन मोरङ प्रहरीले एक महिना अनुसन्धान गरेको थियो । एसपी बीसीले थपे, ‘घटनाको छानबिनका लागि गठित प्रहरी टोलीले प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरेको थियो । आचार्यले नै भाडाका व्यक्ति प्रयोग गरी गोली हान्न लगाएको पाइयो ।’ आजको राजधानी दैनिकमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?