साझा विवेकशीलमा रँडाको : मिश्रले पारित गरे ‘मार्ग परिवर्तन’, पाण्डे पक्ष असन्तुष्ट

लोकपथ
91
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सार्वजनिक गरेको प्रस्ताव ‘मार्ग परिवर्तन’ प्रतिवेदन दुई तिहाई बहुमतले पारित भएको छ ।

आज बसेको साझा विवेकशीलको केन्द्रीय कमिटी बैठकले उक्त प्रतिवदेनलाई दुई तिहाई बहुमतले पारित गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।

बैठकमा संयोजक मिलन पाण्डे पक्षलाई बोलाइए पनि उपस्थिती भने भएको थिएन ।

त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन समेत
गरेको छ।

आजको बैठकमा पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष रहेको प्रवक्ता पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको बताइएको छ ।

उक्त प्रतिवेदन पारित भएसँगै संयोजक पाण्डे असन्तुष्ट बनेका छन् । पाण्डेले उक्त प्रतिवेदन पास भएसँगै अध्यक्ष मिश्रले पार्टीलाई फुटको अवस्थामा पुर्याउन लागेको आरोप लगाएका छन् ।

मिश्रले गत साउन २१ गते उक्त प्रतिवेदन सार्वजनिक गरेसँगै संघीयता खारेज गर्न लागिएको भन्दै राजनीतिक रुपमा ठूलो हलचल मच्चिएको थियो । भने पाण्डे पक्षले असन्तुष्ट बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?