जुन गीत बजेपछि मात्र घर–घरमा तिहार आउँछ

लोकपथ
644
Shares

काठमाडौं । गीत संगीतले हामीलाई मनोरञ्जन मात्र दिँदैन, कुनै खास मौसम र समयको महसुस पनि गराउँछ । अझ विशेष गरेर चाडपर्वका लागि बनेका गीतहरुले त सिंगो पर्वलाई नै बोकेको आभास दिलाउँछ ।

यतिबेला फूलैफूलको पर्व भनेर चिनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारले सबैतिर छाइसकेको छ । बजारमा फूल र फूलसँग सम्बन्धित चहलपहल सुरु भइसकेको छ ।

भर्खरै मात्र दशैँ बिदा गरेका बजारहरु तिहारका सामानहरुले भरिभराउ भइसकेका छन् भने रेडियो, टीभी र सामाजिक सञ्जाल टिकटकमा समेत तिहारको रमझम सुरु भइसकेको छ ।

त्यसरी नै तिहारलाई लक्षित गरेर बनाइएका नयाँ र तिहारका लागि विशेष नै बनिसकेका पुराना गीतहरु रेडियो, टीभीमा घन्किन थालिसकेका छन् । जसले देशभरि तिहारको माहोल सिर्जना गरिसकेको छ । सबैको मनमा तिहारको झिलिमिली मौसम छाइसकेको छ ।

वर्षेनी नेपाली बजारमा तिहारसँग सम्बिन्धित गीतहरु आउने गरे पनि सदाबहार रुपमा तिहारभरि घन्किने गीत भने औँलामा गन्न पनि नपुग्ने मात्रै छन् । हामी यहाँ तिनै गीतको चर्चा गर्छौँ जो लामो समयदेखि तिहारका लागि विशेष गीत भएर गुञ्जिएका छन् ।

अझ भन्नुपर्दा ती गीतबिना तिहार आएजस्तो नै हुँदैन र खल्लो महसुस हुन्छ । हरेक वर्ष तिहारमा बज्ने यी गीतहरू तिहारको अभिन्न अङ्ग बनेका छन् ।

‘तिहारै आयो लौ झिलिमिली’

हरेक वर्ष तिहारको सेरोफेरोमा सबैभन्दा धेरै बज्ने गीत हो, ‘तिहारै आयो लौ झिलिमिली’ । रेडियो, टेलिभिजनदेखि घर–घरमा मोबाइल र वुफरमा घन्किने यो गीत नै तिहारको विशेष गीत बनेको छ ।

यादव खरेलको शब्द रहेको यो गीतमा सम्भुजित बाँस्कोटाको संगीत रहेको छ भने स्वर लोचन भट्टराई र नूतन प्रधानको रहेको छ ।
धेरै वर्षअघि बनेको ‘स्वर्ग’ फिल्ममा रहेको यो गीत तिहारको कालजयी गीत बनेको छ ।

‘निधारमा लर्काएर सप्तरंगी टीका’

तिहारलाई सुमधुर र संगीतमय बनाउने अर्को लोकप्रिय गीत हो, ‘निधारमा लर्काएर सप्तरंगी टीका’ । चलचित्र ‘विजय पराजय’को यो गीत पनि तिहारको विशेष गीत हो । तिहारभरि जताततै घन्किरहने यो गीत बजेपछि तिहार आएको आभास दिलाउने गर्छ ।

तिहारको महत्व र दाजुभाइ दिदीबहिनीको सम्बन्ध उल्लेख गरिएको यो गीत पनि तिहारमा सधैँ र धेरै घन्किने गीतमा पर्छ । गायिका हेमलताको स्वरमा रहेको गीत अहिले पनि उत्तिकै सान्दर्भिक र चर्चित छ ।

गीतकार दिनेश अधिकारीले लेखेको यस गीतमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ ।

‘दियो बाली साँझको’

शब्दमा नै तिहारको झिलिमिली झल्काउने गीत ‘दियो बाली साँझको’ पनि तिहारको सदाबहार गीत हो । आशा भोसलेको आवाजमा रहेको यो गीतको शब्द कुसुम गजमेरले लेखेकी हुन् भने संगीत रञ्जित गजमेरले भरेका हुन् । चलचित्र ‘राँको’को यो गीत पनि तिहारैभरि बज्ने गर्छ ।

सिमल बारुलै

तिहारको अर्को विशेष गीत हो, ‘सिमल बारुलै’ । अरुण उपत्यकाले तयार पारेको यो गीत पनि तिहारैभरि जताततै घन्किरहेको सुन्न सकिन्छ । देउसी भैलो खेल्दा झनै बढी यो गीत घन्किने गरेको पाइन्छ ।

यो गीतमा अरुण उपत्यका समूहका नवीन खड्का, पुस्तका खड्का, बलराम समाल, अन्जना गुरुङलगायतको आवाज छ ।

‘दाइ त मेरो लाहुर जाने’

युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको एउटा मार्मिक गीत हो ‘दाइ त मेरो लाहुर जाने’ । दाजुबहिनीको मीठासपूर्ण सम्बन्धका बारेमा वर्णन गरिएको यो गीत हरेक तिहारमा विशेष बन्ने गरेको छ ।

दैवज्ञराज न्यौपानेको शब्द रचनामा परदेशिएको लाहुरेको कथा समेटिएको गीतलाई युक्त गुरुङले संगीत भरेका हुन् । सजिएको यस गीतमा परदेशिएको लाहुरेको कथा समेटिएको छ ।
हाल दुर्गा गुरुङ र गणेश गुरुङको स्वरमा यस गीतको नयाँ भर्जन पनि सुन्न सकिन्छ ।

‘भाइटीकामा भेट्न आऊँला’

राजु लामाको आवाजमा रहेको गीत ‘भाइटीकामा भेट्न आउँला’ पनि तिहारमा धेरै बज्ने गीतमा हो । विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा बोकेको यो गीत पनि तिहारका लागि निकै लोकप्रिय र सदाबहार गीत हो ।

‘वर्षमा दिनैमा लैलै’

सुगम पोखरेलको आवाजमा रहेको यो गीत दशैँ तिहार दुवैमा धेरै लोकप्रिय छ । दशैँ र तिहार दुवै पर्वलाई समेटिएको यो गीत रवि श्रेष्ठले लेखेका हुन् भने सुगम स्वयम्ले संगीत भरेका हुन् ।

‘झिलिमिली रातमा, साथीभाइ साथमा’

लोक–पप फ्युजनममा तयार भएको यो गीत पनि पछिल्लो समयमा निकै रुचाइएको गीत हो । अक्षता अधिकारी र नवाज अन्सारीको आवाजमा रहेको यो देउसीभैलो गीत तिहारको समयमा धेरै गुञ्जने गर्दछ । गीतमा र्‍याप पनि मिसाइएकाले यसमा नयाँ किसिमको स्वाद पाउन सकिन्छ । अहिलेका नयाँ पुस्ता यो गीतमा निकै झुम्मिएको देख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?