विदुर । नुवाकोटको लिखु गाउँपालिकामा नेकपा एमालेले महिलालाई अध्यक्ष बनाएको छ ।
मंगलबार भएको नेकपा एमाले लिखु गाउँपालिकाको अधिवेशनले दुर्गादेवी पुडासैनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
अध्यक्षमा चार जना प्रत्यासी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा भएको बेला केपी ओली पक्षमा सक्रिय थिइन् ।
गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपध्यक्षमा उम्मेदवार बन्न सिफारिस भए पनि भेगीय सन्तुलत मिलाउँदा पुडासैनीको नाम अन्तिम समयमा काटिएको थियो । नेतृत्व पाएसँगै उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व ३५ वर्षीया पुडासैनीको काँधमा आइपुगेको छ ।
पुडासैनी विद्यार्थीकलादेखि नै एमालेको राजनीतिमा सक्रिय थिइन् ।
नुवाकोटमा दुई नगरपालिका र दश वटा गाउँपालिका छन् । तर, चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ । अन्यमा तिहारअघि नै अधिवेशन सक्ने एमालेले जनाएको छ ।
नुवाकोटमा महिला पालिका अध्यक्ष हुने पुडासैनी पहिलो हुन् । देशभर एमालेले पालिका अधिवेशन गरे पनि अधिकांशमा पुरुष अध्यक्ष चयन भएका छन् ।
मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा सोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया