एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य

लोकपथ
676
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशभरका सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एक भएको र निर्वाचन केन्द्रित अभियानको संकेत दिएको छ। स्थानीय निर्वाचनमा उम्मेदवार छनोटमा विवाद भए परिणाम राम्रो आउन नसक्ने भएकाले एमालेले अहिलेदेखि नै पार्टी कमिटीलाई एकजुट र मजबुत बनाएर निर्वाचनमा होमिने तयारीस्वरुप वडासँगै पालिका तहको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको हो।

एमालेको दसाैँ महाधिवेशनमा सकेसम्म पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारी छ। वडा र पालिका अधिवेशनदेखि नै सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाएर केन्द्रीय महाधिवेशनबाट पनि सर्वसम्मत पदाधिकारी चयन गरी पार्टी एक भएको सन्देश दिन चाहन्छ एमाले। पार्टीका सबै कमिटीमा सर्वसम्मत नेतृत्व छान्ने र स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा पनि यही अभ्यास गर्ने योजना उसको छ।

‘पार्टी विभाजन भएको अवस्था छ। अहिले पनि पार्टीभित्र गुटबन्दी छ भन्ने बुझाइ छ। तर, त्यस्तो होइन भन्न सबै तहको नेतृत्व सर्वसम्मत होस् भन्ने केन्द्रीय नेतृत्वको चाहना छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा पर्न नदिन र पार्टीमा गुटबन्दी छैन भन्न पनि पालिका तहमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिइएको हो।

‘लोकतन्त्रमा सबैभन्दा उत्तम विधि सर्वसम्मत हो, सर्वसम्मत नभए निर्वाचनबाट नेतृत्व छान्ने प्रक्रिया त हुन्छ’, एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने। सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले गाउँपालिका र नगरपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न मातहत कमिटीहरूलाई निर्देशन दिएको थियो।

पार्टी केन्द्रले निर्देशन दिए पनि केही पालिकामा भने सर्वसम्मत नेतृत्व चयन हुन सकेन। ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न भनिएको छ, सर्वसम्मत नभए लोकतान्त्रिक विधि अपनाउन भनेका छौं, धेरै पालिकामा सर्वसम्मति भैसकेको छ’, तामाङले भने। उनका अनुसार सबै तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टी नीति छ।

दसाैँ महाधिवेशनमा सकेसम्म पदाधिकारी सर्वसम्मत चयन गर्ने रणनीतिअन्तर्गत तल्ला कमिटीरूलाई पनि सर्वसम्मत नेतृत्व चुन्न जोड दिइएको हो। ‘अहिले सर्वसम्मत नेतृत्व चयन गरिएन भने भोलि स्थानीय र संसदीय चुनावमा टिकट नपाउने बाउँठिएर अर्को पार्टीतर्फ लाग्नेछन्। अहिले सबैतिरबाट एमालेमाथि आक्रमण भैरहेका बेला संगठन मजबुत बनाउनुपर्ने दायित्व आएको छ। वडा र पालिका तहको पार्टी नेतृत्वले स्थानीय चुनावमा उम्मेदवार सिफारिस गर्ने हो।

त्यसैलाई ध्यानमा राखेर अहिले पार्टी अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्न भनिएको हो’, स्थायी कमिटीका ती सदस्यले भने। स्थानीय चुनावमा विवादरहित उम्मेदवार चयन गर्न पनि अहिले पार्टी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनमा जोड दिइएको ती नेताको भनाइ छ।

उनका अनुसार यो अभ्यासले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न सहज हुनेछ। त्यतिमात्र होइन, दसाैँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा दोहोरिन चाहन्छन्, उनी सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्, उनको यो चाहना पूरा गर्न पनि तल्लो तहलाई सर्वसम्मत नेतृत्व छान्न निर्देशन भएको हो। उनको अर्को चाहना सबै कमिटीमा सर्वसम्मत नेतृत्व छानेर पार्टी एक भएको सन्देश दिनु पनि हो।

पार्टी उपमहासचिव घनश्याम भुसालले पालिका तहमा नेतृत्व चयन गर्दा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे पनि त्यसको सुनवाइ भएन। अध्यक्ष ओलीले सबै तहलाई लिखित निर्देशन दिएरै सर्वसम्मत नेतृत्व चयन गर्न भनेका छन्।

त्यतिमात्र होइन, उनले वडा र पालिका दुवै तहको अधिवेशन उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सर्वसम्मत नेतृत्व चयनमा जोड दिए। वडा र पालिकामा अधिवेशन गराउन जिल्लाबाट जाने प्रतिनिधिलाई पनि पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएको थियो।

करिब ६ सय पालिकामा सर्वसम्मत नेतृत्व चयन भैसकेको र केही पालिकामा चयन हुन बाँकी छ। बाँकी पालिकामा पनि सर्वसम्मतिका लागि प्रयास भैरहेको छ। ओलीले पार्टीभित्र कुनै विवाद नभएको देखाउन पनि सबै तहको नेतृत्व सर्वसम्मत बनाउन निर्देशन दिएको स्रोतले बतायो।

विधान महाधिवेशनका क्रममा पनि यो अभ्यासलाई केन्द्रमा पनि लागु गर्नेगरी विधानमा सहज प्रावधान राख्न खोजिएको थियो। पदाधिकारी संख्या २१ बनाइएको भए यो अभ्यासमा केही सफलता पाउने सम्भावना थियो तर विधानले तोकेको १५ पदाधिकारीमा भने सर्वसम्मत हुने सम्भावना निकै कम रहेको नेताहरूले बताएका छन्।

मंसिर १० देखि १२ सम्म हुने दसांै महाधिवेशनमा प्यानल बनाएर उम्मेदवार हुन नदिने तयारीस्वरुप एमाले नेतृत्वले पालिकामा चुनाव नगराएर सर्वसम्मतिबाट नेतृत्व चयन गरेको हो।

पार्टी एक ढिक्का भएको देखाउन पनि सबै वडा र पालिकामा विवादरहित ढंगले नेतृत्व चयन गर्न खोजिएको हो। एमाले कार्यालय सचिव तामाङका अनुसार बाढीपहिरोले अवरोध भएकाबाहेक सबै वडा र पालिकामा नयाँ नेतृत्व चयन भएको छ।

उनका अनुसार पाँचथर र सुनसरीका विवाद भएका वडामा पनि केही दिनभित्रै नेतृत्व चयन गरिनेछ। नयाँ विधान अनुसार गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय, उपमहानगरपालिकामा ४१ र महानगरपालिकामा ५१ सदस्यीय वडा कमिटी हुन्छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?