फोनिजको सातौँ महाधिवेशन माघको पहिलो साता हुने

लोकपथ
130
Shares

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको सातौँ महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । फोनिज सङ्घीय समितिको नुवाकोटमा आज बसेको सातौँ पूर्ण बैठकले माघ ७ र ८ गते सातौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको तयारीस्वरूप मङ्सिर १५ गतेसम्म देशभर सदस्यता वितरण तथा नवीकरण गर्ने, मङ्सिर २५ गते सबै एकै दिन जिल्ला तथा प्रवास अधिवेशन सम्पन्न गर्ने, पुस २४ गते सातवटै प्रदेश महाधिवेशन र माघ ७ र ८ गते सङ्घीय महाधिवेशन गर्ने निर्णय गरिएको फोनिजका महासचिव मनोज घर्तीमगरले बताए । महासचिव घर्तीमगरका अनुसार महाधिवेशनस्थल भने सङ्घीय समितिको सचिवालय समितिको बैठकले टुङ्गो लगाउने जनाइएको छ ।

महाधिवेशनमा नेपालका ५४ जिल्ला शाखा र छवटा प्रवास शाखा तथा जातीय सङ्घ संस्थाका प्रतिनिधि, पर्यवेक्षक तथा प्रदेश र जिल्ला शाखाका पदाधिकारीको सहभागिता रहने सङ्घीय अध्यक्ष डण्ड गुरुङले बताए । फोनिजको जापान, मलेशिया, अमेरिका, दक्षिणकोरिया, दुबई र बेलायतमा शाखा विस्तार गरिएको छ ।

फोनिजमा गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारु पत्रकार सङ्गठन आबद्ध रहेका छन् । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सम्बन्धित प्रदेश समितिलाई अधिकार दिने निर्णय गरिएको छ । नुवाकोटको ककनीस्थित नेपाल स्काउट अन्तर्राष्ट्रिय सभाहलमा बसेको बैठकको निर्णय सबै शाखालाई सर्कुलरका रूपमा पठाइने फोनिज सङ्घीय समितिका सङ्गठन सचिव मिलन लिम्बूले जानकारी दिए । बैठकले देशको समसामयिक विषयमा फोनिजको तर्फबाट खेल्नुपर्ने भूमिकालाई कडाइका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?