वर्षाको असर : सिन्धुलीमा खेतमै उम्रियो धान

लोकपथ
442
Shares

सिन्धुली । जिल्लामा २ करोड बराबरको धानबाली नष्ट भएको छ । गत आइबारदेखि लगातार परेको बेमौसमी वर्षाका कारण जिल्लाभर ३ सय ३३ हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट हुँदा २ करोडबराबरको क्षति भएको हो ।

कृषि ज्ञान केन्द्र सिन्धुलीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा १५ हजार ४ सय २३ हेक्टर जमिनमा धानबाली लगाइएको थियो । जसमा ३ सय ३३ हेक्टर जमिनको धानबाली नष्ट भएको छ ।

जिल्लामा सबैभन्दा बढी मरिण गाउँपालिकामा धानबाली नष्ट भएको छ । उक्त पालिकामा १ सय ५ हेक्टर जमिनको धान नष्ट भएको तथ्याङ्कमा उल्लेख छ । मरिणमा १ हजार ५ सय ६० हेक्टरको धान नष्ट भएको छ ।

जिल्लामै सबैभन्दा बढी धानखेती हुने कमलामाई नगरपालिकामा ५ हजार ३६ हेक्टर जमिनमा धानखेती भएकोमा ३५ हेक्टरको धान नोक्सान भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्रीकृष्ण अधिकारीले बताए ।

त्यस्तै दुधौली नगरपालिकामा ३ हजार ४ सय ८५ हेक्टर जमिनको धानखेतीमध्ये २५ दशमलव १६ हेक्टर जमिनको धानबाली क्षति भएको जनाइएको छ ।

सुनकोशी गाउँपालिकामा ७ सय ४ हेक्टर जमिनमा धानखेती भएकोमा ५ हेक्टर जमिनको धानबाली नष्ट भएको छ । त्यस्तै फिक्कल गाउँपालिकामा लगाइएको ४ सय ७८ हेक्टरमध्ये १० हेक्टर जमिनको धानबाली सखाप भएको छ ।

तीनपाटन गाउँपालिकामा २ हजार ३५ हेक्टर जमिनमा धानखेती गरिएकोमा वर्षाले ८१ दशमलव २४ हेक्टरको बालीमा क्षति पुगेको छ ।

यस्तै ६ सय ८६ हेक्टरमा लगाइएको गोलन्जोर गाउँपालिकाको २० हेक्टर जमिनको धानबाली नष्ट भएको छ । हरिहरपुरगढी गाउँपालिमा १ हजार २१ हेक्टर जमिनमा लगाइएकोमा ५० हेक्टरमा क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?