काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएकी छिन् ।
बुधबार दिउँसो मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएको पत्र प्रदेश प्रमुख यादव शर्मासमक्ष बुझाएकी हुन् ।
प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी शाक्यले त्यसलगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएकी हुन् । शाक्यले एमालेको एकल बहुमतसहित गत भदौ २ गते मुख्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् । त्यसो त एमाले विभाजन भएपछि शाक्यको पार्टी एमाले प्रदेशमा अल्पमतमा परेको थियो । हाल बागमती प्रदेश सभामा एमालेका ४३ मात्रै सांसद रहेका छन् । कुल १०९ सांसद रहेको बागमतीमा सरकार चलाउनका लागि ५६ सांसदको आवश्यक्ता पर्दछ ।
मुख्यमन्त्रीबाट शाक्यले राजीनामा दिएसँगै अब विपक्षी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । पाण्डेलाई एकीकृत समाजवादीसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतको समर्थन रहेको छ । त्यस्तै प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै नयाँ सरकार गठनको तयारी गर्ने विपक्षी गठबन्धनका नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया