राज्यका अङ्गले गरिमा कायम राख्नुपर्छ : अध्यक्ष दाहाल

लोकपथ
104
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताए । उनले भने, “राज्यका प्रमुख अङ्गले आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नुपर्छ ।”

यस विषयमा सत्ता गठनबन्धनबीच छलफल गरेर एक दुई दिनमै उचित निस्कर्षमा पुग्ने उनको भनाइ थियो । प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उहाँले कुनै छलफल नभएको बताए । उनले भने, “हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो । पाँच दलको बैठक हुन बाँकी छ ।”

फरक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीलाई बलियो बनाउनका लागि सबै कार्यकर्ताले सङ्कल्प गर्नुपर्ने समय आएको बताए । अहिले गम्भीर परिस्थिति रहेको भन्दै उनले भने, “परिस्थिति गम्भीर छ । जसरी पनि सङ्घर्ष गरेर उपलब्धिको रक्षा गर्नुपर्छ ।”

नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा अध्यक्ष दाहालले आफूलाई विजयी गराउन एमालेले सुरुआत गरेको बताए । एमालेले महाधिवेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको उनको भनाइ थियो । आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार हुने अध्यक्ष दाहालले प्रष्ट पारे । उनले भने, “सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुनसक्छ । चितवन छाड्दिन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?