बस्ती स्थानान्तरण गर्न माग

धनगढी । नेपाली कांग्रेस बित्थडचिर गाउँ कार्यसमितिले कटान, बाढी पहिरो, सडकलगायतका कारणले उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न माग गरेको छ ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै उच्च जोखिममा रहेका बस्तीहरुलाई अध्ययन अनुसन्धान गरी उचित स्थानमा बस्ती स्थान्तरणसँगै गर्नुपर्ने माग गरेको हो ।

गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लासहित देशका केही भागमा भौतिक तथा मानवीय क्षति भएको थियो । उनीहरुले गाउँपालिकाका पहिरोप्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे ।

‘यस प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षति, निजी धनजनलगायत प्राकृतिक क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, सो ज्ञापनपत्रमा भनिएको छ, ‘जिल्लाका १२ वटै पालिकामा अविरल वर्षापछि आएको बाढी, पहिरो, नदी, कटान तथा डुबान भए पनि यस बित्थडचिर गाउँपालिकामा जयपृथ्वी राजमार्ग, कालगा नदीलगायतका साना नदीहरुको कटान तथा स्थानीय सडक निर्माणको कारण अझ बढी क्षति भएकाले यस पालिकाभित्रका बस्ती स्थान्तरण, नदी तटबन्धन, पहिरो रोकथाम, प्रभावित परिवारलाई क्षतिपूर्ति, किसानलाई उचित राहतलगायतका समस्या समाधानका लागि ध्यानाकर्षणसहित क्षतिपूर्तिको माग गर्दछौँ ।’

गाउँपालिका सभापति चक्रबहादुर अधिकारीले बुझाएको ज्ञापनपत्रमा पहिरोमा परी ज्यान गुमाउने बित्थडचिर गाउँपालिका वडा नम्बर ७ बस्ने ५८ वर्षीय धौले ढाँटका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र पालिकाभित्र प्राकृतिक प्रकोपको कारण भत्किन पुगेका तथा क्षति भएका घर परिवारलाई आवासका लागि घर निर्माण गर्न उचित आर्थिक सहयोग उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै, पालिकाअन्तर्गत जयपृथ्वी राजमार्ग तथा स्थानीय सडकको तत्काल मर्मत सम्भार एवं उचित ढल निर्माणको लागि विशेष व्यवस्था, कालंगा नदी तथा खोला किनारामा रहेका बस्ती खेतीयोग्य जमिन, वन जंगल जोगाउन तत्काल तटबन्धन निर्माणका लागि प्रदेशस्तरीय विशेष योजना तर्जुमा गरी कार्यान्वयन गर्न, बाढी, पहिरो तथा नदी कटानले खानेपानीका मुहानमा क्षति पु¥याई संरचना बगाएको हुँदा खानेपानी आयोजनाका लागि तत्काल आवश्यक योजना तर्जुमा गर्न, खेतीयोग्य जमिनको सिँचाइका लागि निर्माण गरिएका नहर तथा कुलोहरुमा क्षति पुगेकाले उचित व्यवस्थापन गर्न माग गरिएको छ ।

सभापति अधिकारीले आफूहरुले राखेका माग यथाशीघ्र पूरा गरिदिन अनुरोध गरे ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले अविरल वर्षाका कारण प्रदेशको बझाङ र डोटीमा बढी मानवीय र भौतिक क्षति भएको बताए । उनले प्रदेशमा विपतमा परी ज्यान गुमाएका परिवारलाई राहात रकम र पहिरोबाट प्रभावित परिवारको उद्धार तथा राहात वितरणमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

उनले प्रदेश सरकारले पहिरोबाट पूर्ण रुपमा घरमा क्षति पुर्याएको परिवारलाई घर निर्माणका लागि ५० हजार रकम उपलब्ध गराउने बताए ।

‘अहिले हामी पहिरोबाट क्षति पुगेको विवरणको लागत संकलन गरिरहेका छौँ’, उनले भने, ‘यकिन तथ्यांक आएपछि हामीले अन्य योजना अघि बढाउनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?