मेयर कप भेट्रान फुटबल : झापा र बुटवलको सुखद नतिजा

लोकपथ
52
Shares

काडमाडौं । मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुखद नतिजा निकालेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा झापाले विजय युथ हेटौंडालाई ५–१ तथा अर्को खेलमा बुटवलले पश्चिम चितवनलाई १–० ले स्तब्ध बनाएको हो । हेटौंडामाथि शानदार जित निकालेको झापाले जारी प्रतियोगितामा सुखद सुरुआत गरेको हो । झापाको जितमा नरेन्द्र मणी लिम्बुले ४ गोल गरे । श्याम कुमार गोलेको नाममा एक गोल रह्यो । हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काएका थिए ।

यस जितसँगै समूह ई को झापाले ३ अंक जोडेको छ । हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । हेटौडाले २ खेलमा ३ अंक जोडेको छ ।

यस्तै बुटवलले पश्चिम चितवनलाई पराजित गर्दा यमु रानाको गोल निर्णायक बन्यो । प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वार्ड नम्बर १४ लाई २–० ले हराएको छ । साइनिङको जितमा उमेश लामा र राजु दंगालले एक एक गोल गरे ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । आयोजकले २१ टिमलाई सात समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?