मंसिरभित्र महाधिवेशन सम्पन्न हुनेगरी काम गर्न देउवाको निर्देशन

लोकपथ
442
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर भित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसीर भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए । पार्टी सभापतिले मंसीर भित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनु भएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘पार्टी सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईँहरुले यो प्रक्रियालाई चाँडोभन्दा चाँडा अगाडि बढाउनुहोस् । र मंसीर भित्र महाधिवेशन गरि सक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रिय महाधिवेशन जुन छ, यो मंसीर भित्र हुनुपर्छ । र त्यही अनुरुप तपाएईहरुले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनु भएको छ ।’

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसीर भित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ । महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रिय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए । उनले भने, ‘महाधिवेशनको कार्यतालिकामा केही सानोतिनो हेरफेर गर्नु प¥यो भने कार्य समितिले बनाएको कार्यतालिका हो । र त्यसलाई हेरफेर गर्न पनि केन्द्रिय कार्य समिति बैठक बोलाउनु पर्छ । त्यसलाई फर्मल बनाउन पनि केन्द्रिय कार्य समितिको बैठक बोलाइयोस भनेर मैले माग गरेको छु । सायद बोलाउनु होला ।’

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसीर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसीर भित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?