यस पटक तिहारमा पुरानै झिलिमिली बत्तीले बजार धानिने

लोकपथ
156
Shares

काठमाडौं– कोरोनाका कारण यसपालि पनि तिहारका लागि आधुनिक झिलिमिली बत्तीको आयात कम भएको छ ।

तिहारलाई नै झिलिमिली र रंगिन बनाउने झिलीमिली (फेस्टिबल लाइट) बत्तीको आयात कम भएपछि तिहारमा यस्ता बत्तीको प्रयोग पनि कम हुने देखिएको हो । बत्तीको आयातमा ७५ प्रतिशतको हाराहारीमा कमी आएको व्यवसायीले बताएका छन् ।


गत वर्षको तुलनामा यस वर्ष २५ देखि ३० प्रतिशत मात्रै बत्ती नेपाल भित्रिएका छन् । ‘यस वर्ष २५–३० प्रतिशतको हाराहारीमा मात्रै बत्ती आयात भएको छ’, नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले भने ।

यसपालि १० देखि १५ करोड रूपैयाँबराबरका सामान नेपाल भित्रिएका छन् । हुन त अझै एक सातासम्म तिहारका लागि झिलिमिली बत्ती भित्री नै रहन्छन् । गत वर्ष ३० देखि ४० करोड रूपैयाँबराबरका बत्ती नेपाल भित्रिएका थिए । बत्ती कम आउने भएपछि गत वर्ष स्टकमा रहेका बत्तीले तिहारको माग धान्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् । आयातमा कमी आएपछि यसपालिको तिहारमा कारोबारमा पनि निकै गिरावट आउने उनले बताए ।

किन आयो आयातमा कमी ?

तिहारका लागि आयात हुने झिलिमिली बत्तीको आयातमा कमी आउनुका धेरै कारणहरू छन् । अध्यक्ष पौडेलका अनुसार तातोपानी, केरुङलगायतका नाकाहरूमा अवरोध हुँदा समयमा पर्याप्त सामान आउन नपाउनु तथा आम उपभोक्ताको क्रय क्षमतामा ह्रास आउनु मुख्य कारण रहेका छन् ।

व्यवसायीहरूले तिहारका लागि तीन महिनाअघि नै बत्तीको अर्डर गरिसक्नुपर्छ । अघिल्लो वर्षको फागुनदेखि सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण सरकारले पटक–पटक लकडाउन तथा निषेधाज्ञा गर्यो जसले सबै व्यापार व्यवसायहरू पूर्ण रूपमा प्रभावित भए ।

पछिल्लो समय कोरोना संक्रमणको प्रभाव कम बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाएको छ । तर व्यवसायीहरूले पुनः लकडाउन हुने त्रासका कारण सामान भित्र्याउन सकेनन् ।

‘लकडाउनको त्रास रहेकाले व्यवसायीहरूमा उत्साह नै भएन’, पौडेलले भने ।
नेपाल भित्रिने अधिकांश बत्तीहरू चीनबाट ल्याइने गरेको छ भने कतिपय भारतबाट पनि आउने गरेको छ ।

त्यसैगरी, कोरोनाका कारण आम मानिसमा कसैको रोजगारी गुम्यो भने कसैको तलब सुविधा कटौती भए । जसले गर्दा आम उपभोक्ताको क्रयशक्तिमा ह्रास आयो । क्रयशक्तिमा ह्रास आउनेबित्तिकै उपभोक्ताले अत्यावश्यकबाहेकका कुनै पनि सामान किन्न छाडे । अध्यक्ष पौडलेका अनुसार झिलिमिली बत्ती विलासिताको वस्तु भएकाले उपभोक्ताले निकै कम किन्ने आकलन गर्दै कम आयात भएको हो ।

मूल्य बढ्न सक्ने

बत्तीको आयात नै कम भएपछि यसपालि बत्तीको मूल्य बढ्ने भएको छ । महासंघका अनुसार १५ प्रतिशतको हाराहारीमा मूल्य बढ्नेछ । आयात भाडा समेत वृद्धि भएका कारण पनि यसपालि विद्युतीय बत्तीको मूल्य बढ्ने भएको हो ।

हरेक वर्षको तिहारमा नेट झालर, विद्युतीय दियो, स्ट्रिप लाइट, विद्युतीय फोटोहरू, पाइपलाइट, लक्ष्मी गणेशको बल्ने मूर्तिलगायत प्रयोग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?