निर्यात दोब्बर चाडबाडले बढायो आयात

लोकपथ
780
Shares

काठमाडौं । मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ ।

नेपालीको मुख्य चाडबाड दशैंको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धिले समग्र व्यापार बढेको देखिन्छ ।

तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनासम्म नेपालले चार खर्ब ७८ अर्ब रुपियाँको वस्तु आयात गरेको छ जुन अघिल्लो आवको तीन महिनासम्मको तुलनामा करिब ६४ प्रतिशतले बढी हो । असोजमा मात्रै एक खर्ब ६४ अर्ब रुपियाँको वस्तु आयात भएको देखिन्छ, यो कोभिड सङ्क्रमणयताकै बढी हो ।

असोजसम्म सबैभन्दा धेरै २३ अर्ब ३२ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यसपछि दोस्रोमा २० अर्ब ६० करोडको कच्चा भटमास तेल, १७ अर्ब १७ करोडको मोबाइल, १३ अर्बको कच्चा पाम तेल र १२ अर्ब ८६ करोडको पेट्रोल आयात भएको छ ।

आयात मात्र होइन, असोजसम्म निर्यातमा पनि व्यापक वृद्धि भएको छ । विभागका अनुसार तीन महिनामै नेपालले ६५ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ जुन अघिल्लो असोजसम्मको तुलनामा दोब्बरले बढी हो । अघिल्लो असोजसम्म नेपालले ३१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । असोजमा मात्रै नेपालबाट २१ अर्ब रुपैयाँको वस्तु निर्यात भएको देखिन्छ ।

नेपालको निर्यातलाई भने खासगरी भटमास र पामको प्रशोधनले सघाएको देखिन्छ । भारतले नेपाललाई उपलब्ध गराएको निर्यात सहुलियतको उपयोगबाट समग्र निर्यात नै उकासिन पुगेको छ । असोजसम्म नेपालले २२ अर्ब रुपैयाँको भटमास तेलको निर्यात गरेको छ । त्यसपछि साढे १३ अर्बको पाम तेल, दुई अर्ब ४५ करोडको गलैँचा र एक अर्ब ८७ करोड रुपैयाँको ऊनीका उत्पादनको निर्यात भएको छ ।

निर्यातमा भएको वृद्धिले समग्र अन्तर्राष्ट्रिय व्यापारमा यसको हिस्सा पनि बढाएको छ । गत असोजसम्मको कुल व्यापारमा निर्यातको हिस्सा ९.६० प्रतिशत मात्र रहेकामा चालू अवधिमा करिब १२ प्रतिशत हिस्सा पुगेको छ । असोजसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार पाँच खर्ब ४३ अर्ब रुपैयाँ पुग्दा व्यापार घाटा भने चार खर्ब १३ अर्ब रुपैयाँ रहेको विभागको तथ्याङ्क छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?