बानेश्वरको बीच सडकमै खाल्टो

लोकपथ
221
Shares

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडकमा सोमबार विहान एक्कासि ठूलो खाल्डो परेको छ। सिभिल अस्पताल र व्यवस्थापिका संसद भवनबीचको सडकमा करिब १५ फिट गहिरो खाल्डो परेको हो।

डिभिजन सडक कार्यालय काठमाडौंले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप फुट्दा सडक भासिएको जनाएको छ। यो घटनामा मावनीय क्षति भएको छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक संजीव शर्मा दासले सोमबार विहान ५ः०० बजे उक्त सडक भासिएको बताए। ‘सोमबार विहानै सडक भासिएको देखियो,’ उनले भने, ‘ट्राफिक प्रहरीले सावधानी अपनाएकाले कुनै दुर्घटना हुन पाएन।’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनले भने, ‘५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।’ कार्यालयले सोमबार नै भासिएको ठाउँ एस्काभेटरले खोतलेर वरपर घेराउ गरेको छ। सो स्थानमा सवारी साधन तथा पैदलयात्रुलाई निषेध गरिएको छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकामा सडक चौडा अभियान सुरु गरेका थिए। सोही अन्तर्गत माइतीघर–तीनकुने सडक २०७१ सालमै ६ लेनको बनाएर चिटिक्क पारिएको थियो। सोही खण्डमा खाल्डो परेको हो।

तर डिभिजन कार्यालयका निउरेले भने सडक विस्तारको क्रममा सर्भिस लेन मात्रै विस्तार गरिएको दाबी गरे। ‘यो खण्डको लेन २०७१ सालमा तयार भएको हो। त्यो बेला सर्भिस लेन र वर्षात्को पानी निकासको लागि सर्भिस लेनको किनारामा डे«नेज मात्रै निर्माण गरेका हौं,’ उनले भने, ‘अहिले खाल्डो परेको ठाउँमा सडक विस्तारको क्रममा ओभरले मात्रै गरिएको थियो।’ कार्यालयका अनुसार अहिले भत्किएको ठाउँमा इँटाको मंगाल छ। जीर्ण भएकाले त्यो भत्किएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको (केयुकेएल) ढल सञ्चालन महाशाखा प्रमुख उज्ज्वल श्रेष्ठले बानेश्वरमा भत्किएको उक्त मंगाल मर्मत मंगलबार सुरु गरिने बताए। ‘ढलको मंगाल जीर्ण भएर भत्किएको देखिएको छ,’ उनले भने, ‘मंगलबारदेखि निर्माण सुरु गर्दैछौं।

कम्तीमा पनि दुईदेखि तीन दिन लाग्ने देखिन्छ।’ महाशाखा प्रमुख श्रेष्ठले काठमाडौैं उपत्यकामा ढल निर्माण तथा मर्मतसम्भार गर्ने निकाय धेरै भए पनि महाशाखाले नै मंगाल र पाइप मर्मतसम्भार गर्ने बताए।

डिभिजन सडक कार्यालयले मंगाल तथा पाइपको मर्मतपछि मात्रै सडक मर्मत थाल्ने बताए। ‘केयुकेएलले मंगाल मर्मत गरेपछि हामी सडकको खाल्डो पुर्ने लगायत काम गर्नेछौं,’ उनले भने।

दुई निकायबीच समन्वय नहुँदा तीन वर्ष बेहाल

खाल्डाखुल्डी र मंगाल मर्मतसम्भार गर्ने काम एउटै निकायले नगर्दा विगतमा मंगाल तथा ढल निर्माणमा ढिलासुस्ती हुन्थ्यो। नागरिक उड्डयन प्राधिकरण र सडक विभागबीच काठमाडौं महानगरपालिका वडा नं ३२ को कार्यालयअगाडि तीन वर्षअघि यस्तै विवाद चर्किएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको ढलको कारण वडा नं ३२ को कार्यालयअगाडि खाल्डो परेको थियो। तर ढल तथा मंगाल मर्मतमा दुवै निकायले एकअर्काेलाई देखाउँदै पन्छिँदा तीन वर्षसम्म ढल तथा मंगाल मर्मत काम प्रभावित भएको थियो।

वडा कार्यालयको समन्वयमा मात्रै सो सडक खण्डमा मंगाल निर्माणको काम भएको थियो। मंगाल मर्मतसम्भार र सानो खाल्डो पुर्ने काम पनि एउटै निकायले नगर्दा धेरै समस्या आउने गरेको छ। अहिले बानेश्वर भ्वाङको मंगाल मर्मतसम्भारको जिम्मा केयुकेएल र खाल्डो पुर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयले लिएका छन्।

तर यी दुवै निकायले एकअर्काेलाई देखाएर मर्मतसम्भारमा ढिलासुस्ती गर्ने सम्भावना छ। एउटै काममा दुईवटा निकायले गर्दा ढिलो हुन्छ। एउटै कार्यालयले इस्टिमेट गरेर तत्काल मर्मतसम्भार गरे काम चाँडो सकिने बताइन्छ।

विगतमा कोटेश्वर चोकमा खानेपानीको पाइप चुहिँदा पनि १५ दिनसम्म मर्मतसम्भार हुन सकेको थिए। अहिले डिभिजन सडक कार्यालय र केयुकेयएल दुवै निकायले समन्वय गरी मर्मत गर्ने दाबी गरेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?