विज्ञापनको बजार बिस्तार गर्नुपर्छ : व्यवसायी

लोकपथ
91
Shares

काठमाडौं । विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका छन् ।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका हुन् । व्यवसायीहरुले विज्ञापनको बजारलाई बढाउन सकेमात्रै नेपालका सञ्चारमाध्यमहरुले निष्पक्ष रहेर काम गर्न सक्ने अवस्था हुने धारणा राखे ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापन बोर्डले भविष्यमा विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउने बताए । उनले बोर्डले विज्ञापन बजारको विकासका लागि नयाँ ढोका खोल्ने बताउँदै महत्वपूर्ण उपलब्धिको रुपमा रहेको विज्ञापन आचारसंहिता आजै जारी गर्ने र मस्यौदामाथि सरोकारवाला विज्ञहरुको सुझावका लागि महिना दिनको समयावधि तोकेको बताए । उनले बोर्डले पौष मसान्तभित्र विज्ञापनको आचारसंहिता २०७८ जारी गर्ने बताए । अध्यक्ष हुमागाँईले विज्ञापन एजेन्सीहरुले आफ्नै स्तरले निकालेको तथ्यांकको आधारमा विज्ञापन दिने प्रचलन विद्यमान रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न लाग्ने रकम सरकारले दिनुपर्ने बताए ।

कार्यक्रममा मिडिया अलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्र र सरकारले मनाउने विज्ञापन दिवस एउटै हुनुपर्ने बताए । उनले विज्ञापन कुनै चन्दा, दान, दक्षिणा नभएको उल्लेख गर्दै टीआरपी बढी हुनेले पाउने र समानुपातिक रुपमा बाँड्नु नपर्ने बताए । उनले नेपालमा अनुमानित १५ करोड हाराहारीको विज्ञापन बजेट रहेको तर सञ्चारमाध्यमले त्यसको ५० प्रतिशत पनि नपाएको गुनासो गरे । उनले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबमा अवैध तरिकाले विज्ञापन सञ्चालन भएको बताउँदै त्यसलाई तत्काल रोक्नुपर्ने माग गरे । उनले कोरोनाको अवधिमा पनि सरकारसँग सहुलियत ऋण माग्दा देशका मुलधारका मिडियाप्रति सरकारले चासो नदेखाएको आरोप लगाए ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले स्टेक होल्डरहरुको हक हीत सुरक्षित हुनेगरी विज्ञापन बजार बढाउनुपर्ने बताए । उनले विज्ञापनमा केही विकृतिहरु केही व्यवसायीका कारण पनि भएको बताउँदै अध्यक्ष एजेन्सीहरुलाई मात्रै दलालको संज्ञा दिन नमिल्ने बताए । उनले सञ्चारमाध्यम बलियो बनाउन सके मात्रै सम्पादकीय स्वतन्त्रता सबल हुने भन्दै विज्ञापन दिए राम्रो र नदिए नराम्रो भन्ने परिपाटी अन्त्य गर्न राज्यले विज्ञापन बजारलाई बढाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोसल मिडियालाई व्यवस्थित बनाउन र करको दायरामा ल्याउन सरकारले ध्यान दिनुपर्ने बताए उनले मिडियाले विज्ञापन पाउन कन्टेन्ट राम्रो हुनुपर्ने बताए । अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायलाई सरकारले अति प्रभावित क्षेत्रमा राख्नुपर्ने माग गरे । उनले मिडियालाई विज्ञापन चाहिने र विज्ञापन बढाउन व्यवसाय बढाउनुपर्ने भन्दै सरकारले व्यवसाय जति बढाउन सक्यो त्यति नै विज्ञापन बढ्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताए । उनले विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा स्थापित नगरेसम्म विज्ञापन र मिडिया सन्दर्भ, सम्बन्ध सही ढंगले परिमार्जित गरेको नठहरिने तर्क गरे । अध्यक्ष पोखरेलले सञ्चारसंस्थाहरुको उपस्थितीबिना परिकल्पना अनुसारको समाज निर्माण हुन नसक्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?