बाढीपीडित भन्छन्, ‘तटबन्ध निर्माण नभए बस्ती पुनःस्थापना गरिदिनुस्’

लोकपथ
78
Shares

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । बाढीले बेसहारा बनाएकाले छिमेकीको घरमा शरण लिनुपर्ने बाध्यता उनका परिवारलाई भयो ।

पाँच दिनअघिको महाकाली नदीको बाढीले पन्तको घरसहित सबै समान बगाएकाले छिमेकीको शरणमा बस्न बाध्य गराएको हो । उनको घर भएको ठाउँमा अहिले महाकाली नदीले बगर बनाएको छ । घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकँुडा सबै बगाएर नदीले लगेपछि एकसरो लुगामा पन्त परिवार बस्दै आएका छन् ।

एक साताअघि महाकाली नदीमा आएको बेमौसी बाढीले खल्ला र मुसेट्टीका एक दर्जन परिवार घरबारविहीन हुन पुगेका छन् । खल्ला श्रीलङ्का टोलका गणेशसिंह घटाल, वीरमान मङ्गोला र मानसिह महताको पनि घर बाढीले बगाएको छ । महाकाली नदीको भँगोलोमा आएको बाढीले ती परिवारको घर बगाएको थियो ।

श्रीलङ्का टोलका ४५ घर परिवारमध्ये छ परिवार पुनःस्थापनाको पर्खाइमा छन् । घरमा क्षति नभएका परिवारले पनि कटान र पटानसहित धानबाली गुमाएका छन् । “बस्ती जोगाउनका लागि तटबन्ध निर्माण नगर्दासम्म बस्ती जोगाउन सकिँदैन”, स्थानीयवासी प्रेमसिंह रावलले भने, “तटबन्ध निर्माण नभए अन्यत्र ठाउमा बस्ती पुनःस्थापन गर्नुपर्छ ।”

खल्ला, टुँडीखेल र मुसेट्टी महाकाली नदी किनारका बस्ती हुन् । टुँडीखेल उँचो स्थानमा भएकाले बाढीबाट जोगिएको हो । होचो भएकाले खल्ला र मुसेट्टीका बासिन्दा भने बाढीबाट पीडित भएका छन् । बाढी आएकै बेला फसेका मुसेट्टीका लक्ष्मणसिंह नायकसहित पाँच जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । बाढीले नायकको घरसहित कुखुरा खोर बगाएको छ । महाकाली नदीको भँगालो घरमा पसेपछि उनका श्रीमती र दुई छोराले रातभरि ढुङ्गा र रुखमा बसेर ज्यान जोगाएका थिए ।

अहिले नायकको घर भएको ठाउँ बगर बनेको छ । नदीले बगाएर ल्याएका बालुवा, ढुङ्गा र काठ घरमा थुप्रिएका छन् । “हाइट हेर्दै दर्गुदै, पानीमा तैरिँदै गयौं”, ३६ वर्षीय नायकले भने, “कम्मरसम्म पानी थियो, २÷३ बजेसम्म त आशै थियो, पछि त बाँचिदैन कि भन्ने लाग्यो ।”

बढीले उनको घर र कुखुराको खोर पनि बगाएको थियो । घर र खोर बगाएपछि नायक परिवार विचल्लीमा परेको छ । “केही बाँकी रहेन, ज्यान त भगवान्ले बचायो”, उनले भने । बाढीले मुसेट्टीमा नायकसहित कृष्ण चन्द, हरिश साउँद, जनक साउँद, अमरसिंह खड्का र जय विष्टको घरमा पनि क्षति पुर्यायो । उनीहरुमध्ये चन्दको घर भत्किएको छ । अन्यको घरभित्र बालुवा थुप्रिएर बस्न सकिने अवस्था छैन ।

खड्काकी धर्मपत्नी ६६ वर्षीय दीर्घमतीलाई नायकको परिवारसँगै उद्धार गरिएको थियो । गाई गोठमा बसेकी खड्का पनि बाढीमा फस्नुभएकी थिइन् । बाढीले उनको एउटा गोठ बगाएको छ । घरभित्र भने बालुवा थुप्रिएको छ । घरभित्र पसेको बालुवा हटाउन नायक परिवार लागेको छ । “बाँच्न लेखेकै रहेछ । त्यही भएर बाच्यौँ”, उनले भनिन्, “भगवान् बनेर नेपाली सेनाले आएर बचायो ।”

मुसेट्टीका अर्का पीडित चन्दले बाढीले शरीरमा लगाएको कपडाबाहेक अरु केही नबचेको बताइन्। “एकसरो लगाएको कपडा मात्रै शरीरमा बाँकी छ । त्यति मात्रै बचेको हो । घर त भत्कायो अरु सबै सामान पनि बाढीले बगायो”, उनले भनिन् ।

बिरामी परेर छिमेकीका घरमा गएकाले आफू जोगिएको चन्दले बताइन् । बाढीले चन्दको १५ कट्ठामा लगाएको धानबाली नष्ट भएको छ । मुसेट्टीकी विमला बमले बाढी आएपछि छिमेकीले आफूहरुलाई ब्युँझाएकाले भागेर सुरक्षित स्थानमा गएर ज्यान जोगउन सकेको पीडा सुनाइन्।

बाढीले बगाएर ल्याएको बालुवा बमको गोठभित्र थुप्रिएको छ । घरको तीन फिटसम्म पुगेको बाढीले केही काठका मुढा पनि घरसम्म ल्याएको छ । बमको घर अगाडिको जमिन बगर बनेको छ । बाढीले खोलाजस्तै बनाएको खेतमा अझैसम्म पानी छ । “गोठमा बालुवा छ । जमिन केही राखेन, नागरिकता पनि बगायो”, उनले भनिन्, “राज्यले हाम्रो व्यवस्था गर्नुपर्छ, त्यसैको आशमा छौँ ।”

मुसेट्टीमा मध्यराति १२ बजे बाढी बस्तीमा पसेको थियो । यसअघि विसं २०७० मा बाढीले बस्तीमा क्षति पुर्याएको थियो भने सात वर्षअघि बाढीले सरस्वती आधारभूत विद्यालय बगाएको थियो । विद्यालय बगाएको ठाउँ नजिक नायकसहित पाँच जना बाढीमा फसेका हुन् ।

मुसेट्टीमा पाँच दर्जन घर परिवार बसोबास गर्दै आएका छन् । महाकाली नदी किनारमा खल्ला, टुँडिखेल र मुसेट्टीमा झण्डै ५०० घरपरिवार बस्दै आएको भीमदत्त नगरपालिका– ९ का अध्यक्ष रामनाथले बताए।

अध्यक्ष नाथले बाढीबाट स्थानीयवासीले घरबारसहित अन्न, खेतको धानबाली, पशु चौपाया गुमाएको बताए । “केही बाँकी राखेको छैन । बाटोघाटो, बिजुली बत्ती, टावर सबै बगाएको छ”, उनले भने, “घर नभएर अर्काको घरमा बस्नुपर्ने अवस्था छ । खानलाई अन्न पनि छैन ।”

नगर प्रमुख सुरेन्द्र विष्टले तीनवटै बस्तीलाई सुरक्षित बनाउनका लागि नदी नियन्त्रणको योजना आवश्यक रहेको बताए । “त्यसका लागि प्रदेश र सङ्घीय सरकारलाई गुहार्छौं”, उनले जोड दिए, “तत्काल राहत र पुनःस्थापनाको कार्यलाई अगाडि बढाउँछौँ ।”खल्ला मुसेट्टीमा विद्युत्, सडक र सञ्चार सेवा बाढीका कारण अवरुद्ध रहेको छ । सडक बाढीको पानीले बगाउँदा अन्य क्षेत्रसँगको सम्पर्कसमेत विच्छेद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?