टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा विस्तार

लोकपथ
63
Shares

काठमाडौं । टोखा नगरपालिकामा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएको छ । यसअघि सामान्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले यही कात्तिक १ गतेदेखि विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा विस्तार गरेको हो ।

नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रनलाल कुलालले टोखाका जनतालाई नगरपालिकामा नै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विस्तार गरिएको जानकारी दिए ।

टोखाले विस्तार गरेको सेवामा भिडियो एक्स–रे सेवा, स्त्री रोग विशेषज्ञ सेवा र डेन्टल सेवा रहेका छन् । तीमध्ये भिडियो एक्स–रे सेवा हरेक हप्ताको सोमवार बिहान ८ देखि ९ बजेसम्म, स्त्री रोग विशेषज्ञ सेवा हरेक हप्ताको सोमवार र बिहीवार बिहान १० देखि साँझ ५ बजेसम्म र डेन्टल सेवा आइतवार, बुधवार र शुक्रवार कार्यालय समयमा प्रदान गरिने स्वास्थ्य शाखाप्रमुख कुलालले बताए ।

टोखाले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक हरेक वडामा रहेका स्वास्थ्य केन्द्रमार्फत टोखाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा ११ वडा रहेका छन् । सरकारीबाहेक टोखामा निजी स्तरबाट ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, विनायक अस्पताल, अल नेपाल अस्पताल र इसान अस्पताल सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?