उदयपुरमा व्यापक वन फँडानी

गाईघाट : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । 

जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख कटान गरेको पाइएको हो । 

जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले आफूहरुले प्रत्यक्ष अनुगमन गर्दा २६६ दशमलब ४४ क्युफिट काठ कटान भएको पाइएको बताउनुभयो । वन उपभोक्ता समितिका केही पदाधिकारीसहित अन्यको पनि छानबिन गरेर जिल्ला वन कार्यालयमार्फन अदालतमा केही अभियुक्तविरुद्ध मुद्दा चलाउने तयारी भएको छ ।

सुनमा पनि ठगी
उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ । 

शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर जफत गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ ।

गाईघाटको महालक्ष्मी सुन पसललगायत अन्य तीन वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमको पाइएकाले जफत गरिएको जिल्ला प्रशासन उदयपुरका अनुगमन अधिकृत खेमराज थापाले बताए । 

यस्तै अनुगमनका क्रममा त्रियुगा नगरपालिकाको देउरी बजारमा पनि मापदण्डविरुद्ध सञ्चालन गर्ने केही पसल र एक पेट्रोल पम्प अवैध सञ्चालन भएको पाइएको कारण सिल गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?