बाढिपहिरो पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन

लोकपथ
169
Shares

काठमाडौं । संसदीय समितिले बाढिपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आततबार सिंहदरबारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढिपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । बाढिपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यलाई प्रभावकारी रुपमा संचालन गरी पीडितलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देश गरिएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । समितिले वर्षात्का कारण अवरुद्ध सडक तथा पुलहरु तत्काल संचालनमा ल्याउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ । सभापति खड्काले मनाङ, बझाङ र बाजुरा जिल्ला बाढिपहिरोका कारण ठप्प रहेको उल्लेख गर्दै तत्काल संचालनमा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको बताइन् । उनले भनिन्, ‘बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र खोजी कार्यलाई प्रभावकारी रुपमा संचालन गरी घाईते भएकाहरुको उपचार र प्रभावितहरुलाई उचित राहत उपलब्ध गराउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ । हालैको वर्षात्का कारण अवरुद्ध भएको सडक तथा पुलहरु ततल संचालनमा ल्याउन एवम् मनाङ, बझाङ, बाजुरालगायतका जिल्लाहरुमा पुग्ने सडकहरु पूर्ण रुपमा अवरुद्ध भएकाले अस्थायी रुपमा तत्काल संचालनमा ल्याउने व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।’

समितिले पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाको कार्य प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सम्पन्न हुने लक्ष्य तोकि कामलाई तीब्र ढंगले अघि बढाउन सरकारलाई निर्देश गरेको छ । १४ वर्ष बितिसक्दा पनि सो आयोजनाको भौतिक प्रगति ५८ प्रतिशत मात्रै भएकाले त्यसलाई सक्ने लक्ष्य तत्काल तोकि कामलाई छिटो अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको पनि समितिले जनाएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवसहित मन्त्रालयका पदाधिकारीहरुले बाढिपहिरोबाट उत्पन्न सडक, पुलहरुको अवस्था र त्यसको व्यवस्थापनका लागि भईरहेका कामबारे समितिलाई जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?