लोकसेवाको शैलीमा शिक्षक सेवा आयोग

काठमाडौं । विद्यालय शिक्षाको संरचना आधारभूत तह र माध्यमिक तह गरी दुई तहमा विभाजन गरिए पनि कानुनी रुपमा यसलाई मान्यता नदिँदा शिक्षकको तहगत संरचना पुरानै छ । नेपालमा शिक्षक प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तह गरी तीन तहमा नै छन् ।

संघीय शिक्षा ऐन जारी नहुँदा यो समस्या आएको हो । शिक्षक सेवा आयोगलाई नयाँ शिक्षक छनोटका खुला गरी १७ हजार ४७ संस्कृतका केही विषयमा थप भएको शिक्षक संख्या बाहक र आन्तरिक बढुवातर्फ ३ हजार ३०९ जना शिक्षक नियुक्तिका लागि छनोट गरेर सिफारिस एक महिनाअघि नै भइसकेको छ ।

लोकसेवाको सिको

शिक्षक सेवा आयोगले पनि अबका परीक्षा लोक सेवा आयोगको जस्तै गर्ने भएको छ । लोकसेवाको सिको गर्दै शिक्षक सेवा आयोगले माध्यमिक तह र आधारभूतको प्रारम्भिक परीक्षाको पाठ्यक्रममा लोकसेवाको सिको गरेको हो ।

आयोगले प्रारम्भिक चरणको पाठ्यक्रम यस्तो व्यवस्था गरेको छ । नयाँ पाठ्यक्रमअनुसार आयोगले अब तीन चरणका परीक्षा सञ्चालन गर्नेभएको छ । पहिलो चरणको प्रारम्भिक परीक्षामा आयोगले लोक सेवाको जस्तै बौद्धिक परीक्षण गर्ने भएको छ ।

यसअघि शिक्षासम्बन्धी आधारभूत ज्ञान तथा ऐनबाट मात्र वस्तुगत प्रश्न सोध्दै आएको आयोगले अब एक सय पूर्णांकको प्रारम्भिक परीक्षामा सामान्यज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, बौद्धिक परीक्षणबाट प्रश्न सोधिनेछ ।

शिक्षक सेवा आयोग (१०औँ संशोधन) नियमावलीमा संशोधन भएलगत्तै विज्ञान गर्ने तयारीमा आयोग बसेको छ । नियमावलीको १०औँ संशोधनले खुलातर्फ २०० पूर्णाङ्क तोकेको छ । उक्त प्रावधानअनुसार अब १०० पूर्णाङ्कको सामान्य परीक्षामा न्यूनतम ५० अङ्क ल्याउने परीक्षार्थीले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् । विषयगत परीक्षाको उत्र्तीणाङ्क भने ४० राखिएको छ ।

आयोगको नियमावली २०५७ को दफा ९१८० र ९३८० नम्बरको बुँदा संशोधन र दफा १८ को परीक्षाको पूर्णाङ्क र उत्तीर्णाङ्कसम्बन्धी व्यवस्थामा आयोगबाट लिइने प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्कको विषय र दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिससम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्नेगरी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको भए पनि अहिलेसम्म संशोधन हुन सकेको छैन ।

विषयगत परीक्षा पनि उत्तीर्ण भएमा प्रयोगात्मक र अन्तर्वार्तामा समावेश हुन पाइनेछ । लिखित परीक्षाको नतिजा सामान्य परीक्षा र विषयगत परीक्षाको अङ्क जोडेर सार्वजनिक गरिनेछ । प्रयोगात्मक परीक्षाका लागि २५ अङ्क र अन्तर्वार्ताका लागि २५ अङ्क कायम गरिएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले सामान्य परीक्षा वस्तुगत (अब्जेक्टिभ) हुने जानकारी दिए । प्रयोगात्मक परीक्षा विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले सञ्चालन गर्नेछ ।

प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित उम्मेदवारलाई त्यस्तो परीक्षाको लागि साधन उपलब्ध भएको अन्य कुनै कार्यालय वा संस्थामा पठाउन सक्ने व्यवस्था छ । त्यसरी प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित विषयको विशेषज्ञको समेत सहयोग लिन सक्ने नियमावलीमा व्यवस्था गरिएको छ ।

तिहारलगत्तै विज्ञापन

आयोगले शिक्षामन्त्री देवेन्द्र पौडेलबाट आयोग खुला गर्न ‘ग्रीन सिग्नल’ पाइसकेको छ । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आयोगले सबैभन्दा पहिले बढुवा, त्यसपछि स्थायीका लागि खुला प्रतियोगिता र अन्तिममा स्थायी अध्यापन अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गर्ने सोचाइ बनाइएको जानकारी दिए ।

‘आगामी २०७९ सालको नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ नियुक्त भएका योग्य र उत्साहित शिक्षकलाई कक्षाकोठामा पठाउने सोच लिएका छौँ’ उनले भने, ‘शिक्षा नियमावलीको नयाँ व्यवस्थाअनुसार सुरुमा सामान्य परीक्षा, त्यसपछि विषयगत परीक्षा र अन्तर्वार्ता लिनुपर्ने भएकाले आगामी चैतसम्ममा यी सबै काम गर्न समय निकै कम छ । तैपनि भ्याएसम्म वैशाखबाट नयाँ छनोट भएका शिक्षकलाई कक्षाकोठामा पठाउनुपर्छ भन्ने सोचेका छौँ । हेरौँ, सोचाइ कतिसम्म सफल हुनेछ ।’

उनले स्थायी अध्यापन अनुमतिपत्र हातमा लिएका लाखौँ जनशक्ति खुला प्रतियोगिताको प्रतीक्षामा रहेको र तीमध्ये कतिपयको उमेर हदको समस्या रहेको छ । ‘सकभर तिहार अगाडि नै आयोग खुला गर्ने योजना हो । नभ्याइए तिहारलगत्तै खुला हुनेछ’, अध्यक्ष रेग्मीले थपे ।

आयोगले निम्नमाध्यमिक र माध्यमिक तहको खुला विज्ञापन प्रदेशस्तरीय प्रतियोगिताका आधारमा सञ्चालन गर्नेछ भने प्राथमिक तहको प्रतियोगिता जिल्लास्तरमा हुनेछ । विगतमा निम्नमाध्यमिक र माध्यमिक तहको खुला विज्ञापन क्षेत्रीयस्तरमा सञ्चालन हुनेगरेको थियो ।

आयोगले बढुवा प्रयोजनका लागि एक सय अङ्कको विषयगत लिखित परीक्षा, १५ अङ्कको अन्तर्वार्ता र १० अङ्कको अनुभवको अङ्क प्रदान गर्नेगरी संशोधनको प्रस्ताव गरेको छ । शिक्षकको सुरुको नियुक्ति मितिले हरेक वर्षको एक अङ्कका दरले बढीमा १० अङ्कसम्म अनुभवको अङ्क प्रदान गरिनेछ ।

आयोगका अनुसार माध्यमिक तहका लागि एक हजार ५४४, निम्न माध्यमिक तहका लागि दुई हजार ५९४ र प्राथमिक तहका लागि १३ हजार ८५ गरी कुल १७ हजार २२३ रिक्त पदका लागि विज्ञापन आह्वान गरिनेछ ।

१७ हजार बढी अनुमतिपत्र जारी

आयोगले हालसम्म माध्यमिक तहका लागि एक लाख ४४ हजार ३८१, निम्नमाध्यमिक तहका लागि तीन लाख ७० हजार १२ र प्राथमिक तहका लागि दुई लाख दुई हजार ७१२ गरी कुल सात लाख १७ हजार १०५ जनालाई अध्यापन अनुमतिपत्र जारी गरिसकेको छ ।

आयोगले पछिल्लो पटक २०७५ साल जेठ २८ गते आन्तरिक प्रतियोगितात्मक परीक्षा, २०७५ साल जेठ ३१ गते प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षा, २०७५ साल असार १ गते निम्नमाध्यमिक र माध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षा तथा २०७६ साल असार २ गते अध्यापन अनुमतिपत्रको विज्ञापन प्रकाशन गरेको थियो ।

त्यसपछि झण्डै एक वर्षसम्म आयोग पदाधिकारीविहीन अवस्थामा रहँदै आएको थियो । गत साउनमा नयाँ पदाधिकारी प्राप्त भएपछि आयोगले आफ्नो काम अगाडि बढाउन शिक्षामन्त्रीको प्रतीक्षा गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?