महाकाली अञ्चल अस्पताल सञ्चालनमा

भीमदत्तनगर, २४ असोज ।दुई दिन सेवा प्रभावित बनेको कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा पुनःसञ्चालन भएका छन् ।शनिबार मध्यरात अस्पतालमा काममा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेपछि आइतबार बिहानदेखि चिकित्सकले आकस्मिक सेवाबाहेकका सबै सेवा ठप्प पारेका थिए ।दुई पक्षबीच सहमतिपछि सोमबार रातिदेखि नै सबै सेवा शुरु भइसकेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले जानकारी दिए । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दुई जनाविरुद्ध सार्वजनिक मुद्दा दायर भएर कारबाही भइरहेको छ । घटनाका दिन पक्राउ परेका अन्य तीन जनालाई रिहा गर्ने सहमति भएको अध्यक्ष पाण्डेयले बताए ।साथै शिशुको शवसमेत आफन्तको जिम्मा लगाइएको अस्पताल समितिले जनाएको छ । सुत्केरीले नवजात जन्माउने क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोपमा महिलाका आफन्त कुटपिटमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?