मिर्गौला पीडित अधिकारीलाई सहयोगी हातहरुबाट १२ लाख आर्थिक सहयोग

काठमाडौं । गोरखा जिल्ला सहिद लखन गाँउपालिका वडा नम्वर–८ निवासी स्थानीय युवा समाजसेवी नरबहादुर अधिकारीलाई औषधि उपचारार्थ १२ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । 
उनको दुईटै मिर्गौलाले काम गर्न छोडेपछि उपचारार्थ विभिन्न सहयोगी हातहरुले आर्थिक सहयोग प्रदान गरेका हुन । शनिवार ठमेलमा आयोजित औपचारिक कार्यक्रममा सांसद चुडामणि खड्काले संकलित सहयोग पीडित अधिकारीलाई प्रदान गरेका हुन् । 

मिर्गौला पीडित अधिकारीको मिर्गौला प्रत्यारोपण गर्न करीव ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । त्यतिको उपचार खर्च जुटाउन नसकेपनि थोरैभएपनि सहयोग प्रदान गर्न स्वदेश तथा विदेशमा रहेका युवाहरुले उक्त रकम संकलन गरेका हुन । 

सांसद खड्काले आफूपनि मिर्गौला रोगबाट पीडित ब्यक्ति भएको जानकारी दिदै यस रोगले दिने आर्थिक, मानसिक र शारीरिक पीडा तथा यातना निकै कठिन हुने गरेको बताए । उनले भने– यो रोग कसैलाई नलागोस । 

त्यस्तैं, मिर्गौला पीडित अधिकारीले शहिद लखन गापका स्थानीय युवाहरुले आर्थिक सहयोग स्वरुप प्रदान गरिएको उक्त रकम आफ्नो लागि महत्वपूर्ण उपलब्धी भएको बताए । उनले सामान्य आयस्रोत भएका मिर्गौला पीडितहरुले भारतमा गई उपचार गराउदाको पीडा समेत पोखे । 

गोरखाका स्थानीय दुखी गरिव तथा असहाय र निमुखाहरुको औषधि उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्दै आएका समाजसेवी उत्तरकुमार श्रेष्ठले स्वदेश तथा विदेशमा रहेका सहयोगी हात र पवित्र मन भएका युवाहरु एकठाँउमा उभिदा धेरै विकास गर्न सकिने बताए । 

आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रमका सभापति एवं पर्यटन ब्यवसायी नवराज अम्गाईले समृद्ध गोरखा निर्माणका लागि आफू सधै लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे । विशेष गरी आफू जन्मीएको स्थान सहिद लखन गापको वडा नम्वर–८ को पर्यटन, शिक्षा र स्वास्थ्य लगायत आर्थिक समृद्धका लागि आफू सधै एक कदम अगाडि हुने धारणा उनको थियो । 

सहिद लखन गाप वडा नम्वर–८ का अध्यक्ष काशीनाथ अम्गाईले स्वदेश तथा विदेशमा रहेका युवाहरुको सहयोगी हातहरुले स्थानीय दुखी, गरिव, असहाय र निमुखा जनताको स्वास्थ्य र शिक्षा लगायत विभिन्नक्षेत्रमा आमूल परिवर्तन ल्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?