काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही सुरु भइसकेको बताएका छन् ।
शुक्रबार गृह मन्त्रालयमा कुशवाहामाथि दुर्व्यवहार गर्ने कार्यकर्तालाई कारबाही गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर रहेको बताए ।
‘दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर छ ।’ उनले आज प्रहरीले कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्तालाई अपराधिक उपद्रव मुद्दा लगाएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ ।
कुशवाहालाई हिजो कार्यालयमा पुगेर जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।
आज गृहमन्त्री खाणलाई सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स एसोसिएसनका अध्यक्ष उमेश थानी नेतृत्वको प्रतिनिधिमण्डल, नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति, बागमती प्रदेश समिति र नेपाल निजामति कर्मचारी युनियनको प्रतिनिधिमण्डलले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।
सबै ज्ञापनपत्रमा कुशवाहमाथि भएको भएको व्यवहार निन्दनीय र भत्सनायोग्य भएको भन्दै कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ । शान्ति सुरक्षा कायम गर्न पनि ज्ञापनपत्रहरूमा माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया