१३ मङ्सिर २०७८, सोमवार

लमसुङ गाउँ पहिरोको जोखिममा, पूरै वडा अन्धकारमा

२०७८,कार्तिक,६,शनिवार ०७:१९

99
Shares

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका – २ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ ।

दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् । लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीयवासी भक्तबहादुर सिङकिजाले जानकारी दिए । “केही दिनअघिको बर्सातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ”, उनले भने । “सुविधा सम्पन्न पक्की भवन भएको स्वास्थ्यचौकीसमेत जोखिममा परेको छ ।”

भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घरपरिवार विस्थापित भएका हुन् । लमसुङ बस्तीको माथितर्फ विसं २०७४ मा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयवासी चिन्तित भएका छन् । तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष गमप्रसाद विकले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको र थप क्षति हुन नदिन पहिरो नियन्त्रण योजनाका लागि पहल गरेको बताए ।

यसैगरी गत भदौ २१ गते बाढीले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि धौलागिरि गाउँपालिकाको वडा नम्बर २ का ३६५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् । बयालीस किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको नहर, बाँध र खबाङको विद्युतगृह बाढीले बगाएपछि अन्धकार भएको हो । परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ ।

घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएको छ । उज्यालोका लागि टुकी र सौर्य उर्जामा भर पर्नुपर्ने अवस्था आएको छ । विसं २०७६ कात्तिकमा एक करोड ५२ लाख रुपैयाँको लागतमा परियोजना निर्माण भएको थियो ।

यसअघि विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो ।

प्रकाशित मिति: २०७८,कार्तिक,६,शनिवार ०७:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन

दमौली । हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको

कास्की । गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६१ कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १४३ सङ्क्रमित थपिएका छन्

गलकोट । निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२