मोरङ । गएको कात्तिक १ र २ गते परेको अविरल बर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाभित्र तीनजनाको मृत्यु भएको छ ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज यहाँ बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त जानकारी दिँदै मृतकका परिवारलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरिएको बताए ।
उनले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले सङ्कलन गरिरहेको जानकारी दिए । बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकार समक्ष माग गरिने प्रमुख पराजुलीले बताए ।
वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेको महानगरपालिकाका राजेन्द्र प्रधानले जानकारी दिए । प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म दुई हजार ६९० घर परिवार बाढी र डुवानबाट प्रभावित भएको उनले बताए । विराटनगर–१ मा सबैभन्दा बढी ६०० घर परिवार डुबानमा परेका छन् ।
विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया