दोभानका अग्नि पीडितलाई सात लाख बढी राहत वितरण

लोकपथ
77
Shares

फुङ्लिङ । ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई ताप्लेजुङ समाज युकेले राहत रकम वितरण गरेको छ । ताप्लेजुङ समाज युकेको पहलमा युकेमा सङ्कलन गरिएको साढे सात लाख रुपैयाँ बढी रकम अग्निपीडितलाई वितरण गरिएको हो ।

ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल लगायतको उपस्थितिमा अग्नि पीडित परिवारलाई कूल सात लाख ६१ हजार रुपैयाँ वितरण गरिएको छ । आगलागी भएको साढे आठ महिनापछि ताप्लेजुङ समाज युकेले दोभानका अग्निपीडितलाई उक्त राहत रकम वितरण गरेको हो । समयमै राहत वितरण गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण ढिलो भएको संस्थाका अध्यक्ष दर्नालले बताए ।

अग्निपीडित ५७ परिवारलाई प्रतिपरिवार १३ हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको छ । राहत रकम मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लिम्बू र निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहको उपस्थितिमा पीडितलाई वितरण गरेको पनि संस्थाले जनाएको छ ।

यता राहत रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष चोङ्बाङले प्रवासमा रहेर पनि आफ्नो जन्मथलोका अग्नि पीडितलाई सम्झेर सहयोग गरेकोमा संस्थाप्रति आभार प्रकट गरे । गत फागुन १८ गते मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा ५१ घर जलेको थियो । उक्त आगलागीबाट ४० करोड रुपैयाँ बढी क्षति हुन पुगेको थियो । ताप्लेजुङ समाज युकेले सोही समयमा सिरिजङ्घा गाउँपालिका–१ सिनाममा भएको आगलागीबाट पीडित बनेका चार परिवारलाई पनि ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?