काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोपीडितलाई तत्काल राहत दिने बताएका छन् ।
बाढी पहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताए ।
उनले बेमौसमी वर्षाले सुदूरपश्चिमको अवस्था भयावह भएकोमा दुःख व्यक्त गरे । प्रधानमन्त्री देउवाले वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन समेत दिएका छन् ।
प्रधानमन्त्री देउवाले भने, ‘सुदूरपश्चिममा अविरल वर्षाका कारण बाढी पहिरोले सबैभन्दा बढी क्षति भएको छ, यो अत्यन्तै दुखद् कुरा हो, पहिरो आएको छ, बाढी आएको छ, धेरै मान्छेहरु मरेका छन्, सबै ठाउँमा बाढीले धेरै ठूलो क्षति गरेको छ, बझाङ, डोटीलगायत सबै ठाउँमा ठूलो नोक्सान भएको छ, खेतको धान बगेको छ, कुहिएको छ, अकल्पनीय क्षति भएको छ, बाटो छैन, बत्ती छैन, भयानक दुःख छ, हामी तत्काल दीर्घकालीन राहतको व्यवस्था गर्नेर्छौं ।’
फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले एमसीसी पास हुनुपर्ने आफ्नो अडान दोहोर्याए । एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संसय गर्नुनपर्ने उनको तर्क थियो ।
प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास हुन्छ, एमसीसीको सबैभन्दा झुटो प्रचार गरिएको छ, वल्र्ड बैंक छ, एडीबी छ, अन्तर्राष्ट्रिय कानून लागू हुन्छ, मुद्दा लाग्छ, उनीहरुले नेपालको कानून नै एमसीसीभन्दा माथि हुन्छ भनिसकेको छ, नेपालमा अनुदान आउनु राम्रो हो, सित्तैमा आउने पैसा हुँदैन, हुँदैन भन्छन् ।’
बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री बिहीबार सुदूरपश्चिम पगेका हुन् । देउवाले त्यहाँका बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया