सरकारको कामकारबाहीप्रति गगन थापाको असन्तुष्टि

लोकपथ
77
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौँ । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं । फेरि हामीले अब अर्को मौका खेर फाल्दै छौँ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ । हाम्रा अगाडि केही मौकाहरु अहिले पनि छन । एउटा हामीले माने पनि नमाने पनि एशीया त्यसमा पनि आजको दिन भारत र चीनलाई केन्द्र बनाएर चाहे राजनीति होस् अझ खास गरेर वर्ल्डको इकोनोमी सबै गतिविधि कहाँ छ, चीन र भारत केन्द्रित छ । त्यसको नजिकमा हामी छौं । यो अर्को १०, १५, २० वर्ष रहन्छ । यसभित्र नेपालले लाभ लिन सक्यो भने सक्यो, नत्र फेरि एक पटक मौका छुट्छ ।’

कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे । उनले देशलाई बनाउने हो भने सबैले आ–आफ्नो ठाउँको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेता थापाले मुलुकका विद्यमान बेरोजगारी समस्या समाधान गर्न ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?