देश डुबानमा : प्रचण्ड रिफ्रेसमेन्ट र जिपलाइनमा सरर (भिडियोसहित)

लोकपथ
1.7k
Shares

काठमाडौं । गत आइतबारदेखि परेको बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न स्थानहरूको जनजीवन अस्तव्यस्त बनेको छ ।

हालसम्म देशभर बाढी पहिरो तथा डुबानमा परी एक सय जनाभन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ । भने ४० भन्दा बढी मानिसहरू घाइते र कैयौँ अझै बेपत्ता छन् ।

यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरूको टोलीसहित बिहीबारबाट बाढी पहिरो प्रभावितहरुको निरीक्षणमा निस्किएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले तीनै तहका सरकारलाई बाढी पहिरो र डुबान प्रभावितहरूको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।

स्थानीय तहका जनप्रतिनिधि र सरकार बाढीप्रभावितको राहत तथा उद्धारमा जुटिरहँदा प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सपरिवार रिफ्रेसमेन्टका लागि भन्दै आरामको खोजीमा निस्किएका छन् ।

बिहीबार साँझ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकस्थित सुकुटेबिचमा आरामका लागि पुगे । फर्किने क्रममा शुक्रबार बिहान काभ्रेको धुलिखेलमा रहेको जिपलाइनमा सेल्फी खिच्दै हुँइकिएको भिडियो सार्वजनिक भएको छ ।

माओवादी केन्द्र काभ्रेका नेता सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर तथा टिकटकमा प्रचण्ड जिपलाइनमा चढेको भिडियो सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको तस्बिरमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन युवा संघका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशीखा) सहित अन्य रहेका छन् ।

यसो त प्रचण्ड बेला–बेला परिवारका साथ रिफ्रेसमेन्टका लागि भन्दै परिवारसहित विभिन्न ठाउँहरूमा जाने गरेका छन् । पार्किन्सनको बिरामी पत्नी सीता दाहाललाई रिफ्रेसमेन्टका लागि भन्दै विभिन्न ठाउँमा घुमाउने लैजाने गरेका छन् ।

तर हाल बाढी पहिरो र डुबानले सिङ्गो देश नै प्रभावित भइरहेका बेला प्रचण्ड रिफ्रेसमेन्टको लागि गएको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

@srl_shytri@dhulikhel zeepline ##CM_Prachanda♬ original sound – सरल सहयात्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?