प्रहरी, सशस्त्र र अनुसन्धानमा अब बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने

लोकपथ
117
Shares

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए । ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘त’ भन्न मिल्दैन । ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् । अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाणले दिए ।

संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो । अब संगठनमा कसैले कसैलाई ‘त’ भन्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?