एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

लोकपथ
377
Shares

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताएका छन् ।

बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसिसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।

‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झुटा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानुन लागू हुने बताएका छन् ।’

अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो । ‘नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार,’ देउवाले भने । देउवाले प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखी भएको बताए ।

बाढी डुबान पहिराबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले भने, ‘बाढीपहिरोबाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ, काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिनेछ ।’

प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘नेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।’ उनले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए ।

नेपाली कांग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनको विषयमा निर्वाचन समितिलाई जिम्मा दिइएको बताए । उनले भने, ‘निर्वाचन समितिले अधिवेशन हुन नसकेको जिल्लाको छिट्टै मिति तय गर्छ ।’

बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्रको भ्रमण

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न बिहीवार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने भएका छन् ।

बिहीवार डोटी, बैतडी, बझाङ र डढेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले बताए ।

निरीक्षण सकेर देउवा नेतृत्वको टोली दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?