दूरसञ्चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती

लोकपथ
91
Shares

फुङ्लिङ । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्लबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसैगरी सेवा अवरुद्ध हुँदा अविरल वर्षासँगै आएको बाढीपहिराको क्षति सङ्कलन तथा उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ ।

अविरल वर्षाका कारण इलाम जिल्लाको फिकल, इटहरी र विराटनगरका टावर तथा अप्टिकल फाइबरमा समस्या आएकाले ताप्लेजुङमा दूरसञ्चार कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुन पुगेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । तत्काल सेवा सञ्चालन गर्नका लागि प्राविधिक टोलीले काम गरिरहेको र कहिलेसम्ममा सेवा सुरु हुन्छ भन्न नसकिने उनको भनाइ छ ।

नेपाल टेलिकमको सेवासँगै अन्य मोबाइल सेवा प्रदायक एनसीएल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाइन र वर्डलिङ्कलगायतको पनि सेवा अवरुद्ध भएको छ ।

इन्टरनेट सेवामा अवरुद्ध भएसँगै विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मंगलबारदेखि नै इन्टरनेट अवरुद्ध भएपछि वित्तीय तथा बैंकिङ कारोबारमा समेत समस्या आएपछि सोवाग्राही मर्कामा परेका छन् ।

मोबाइल सेवा अवरुद्ध हुँदा सबैभन्दा धेरै प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । ताप्लेजुङमा पुगेर समयमै होटल बुकिङ गर्न नपाउँदा तीर्थयात्री र पर्यटकले बासका लागि होटल नपाउने, मन्दिरसम्म जाने गाडी नपाउने आफ्ना आफन्तसँग सम्र्पकविहीन हुनुपर्नेजस्ता समस्या भएको थियो । मोबाइल सेवा र इन्टरनेट सेवा अजरुद्ध भएसँगै स्थानीय सञ्चारमाध्यमको समाचार प्रकाशन तथा प्रसारणमा समस्या उत्पन्न भएको छ भने सञ्चारकर्मीलाई पनि समाचार सङ्कलन र सम्प्रेषणमा कठिनाइ भएको छ ।

निरन्तर वर्षाका कारण राष्ट्रिय प्रसारण लाइनमा पनि दुई दिन अवरुद्ध भएको थियो । तर आज बिहानदेखि प्रसारण लाइनमा बत्ती बाल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?