चार केन्द्रीय नेता निर्वाचन लड्ने तयारीमा

–नारायण अधिकारीचितवन, २४ असोज ।स्थानीय तहको निर्वाचनमा निकै चर्चा पाएको चितवनले संघ र प्रदेशको निर्वाचनमा पनि चर्चा पाएको छ ।जिल्लाका तीन वटै क्षेत्रमा केन्द्रीय नेता नै निर्वाचन लड्न इच्छुक देखिएपछि जिल्लाको नाम चल्न थालेको छ । चितवन क्षेत्र नं १ बाट नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, क्षेत्र नं २ बाट नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं पूर्वरक्षामन्त्री रामबहादुर थापा, क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सोही क्षेत्रबाट राप्रपा (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं वर्तमान वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे निर्वाचनमा लड्ने तयारीमा छन ।माओवादी केन्द्रका अध्यक्ष दाहालले यसअघि नै घोषणा गरेर क्षेत्र नं ३ बाट निर्वाचन लड्ने बताइसकेका छन । गृह जिल्ला चितवन भए पनि यसअघिका निर्वाचनमा उनी अन्यत्रबाट प्रतिस्पर्धा गरिरहेका छन ।सोही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा छोरी रेणु प्रमुख छिन । यसअघि सो क्षेत्रबाट नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचन भई प्रधानमन्त्रीसमेत भएका थिए ।हाल निर्वाचन क्षेत्र गाभिएपछि सोही क्षेत्रमा पर्ने यसअघिको क्षेत्र नं ५ बाट निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री पाण्डेले क्षेत्र नं ३ बाटै निर्वाचन लड्ने बताउँदै आएका छन । उनले भने “लोकतान्त्रिक गठबन्धन भए पनि नभए पनि म क्षेत्र नं ३ बाटै निर्वाचन लड्छु ।” यसअघि पार्टीभन्दा व्यक्तिगत मत बढी पाउनुभएका पाण्डेले दाहालसँग निर्वाचनमा भिड्दै बताउँदा चुनावी रौनकता र प्रतिस्पर्धा अरु थपिने देखिएको छ ।त्यस्तै क्षेत्र नं २ बाट माओवादी केन्द्रका नेता थापा निर्वाचन लड्न इच्छुक देखिएका छन । उनका स्वकीय सचिव अच्युत पन्तले थापा एक्लै निर्वाचन लड्ने तयारीमा रहेकामा वाम एकता भएपछि झन् सजिलो बनेको बताए । पन्तले भने, “नेता थापा समानुपातिक होइन, प्रत्यक्ष निर्वाचन लड्न इच्छुक हुनुहुन्छ ।” यसअघि पनि सोही क्षेत्रसमेत पर्ने तत्कालीन क्षेत्र नं २ बाट थापा निर्वाचित भएका थए । थापालाई माओवादी केन्द्रका तेस्रो ठूलो नेताका रुपमा लिइन्छ ।त्यसैगरी वामपन्थी गठबन्धनको कार्य दलमा थापा रहेका छन । जिल्लाको क्षेत्र नं १ बाट एमाले नेता पाण्डेको नाम सर्वसम्मत सिफारिस भएको छ । जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले क्षेत्र नं १ मा पाण्डेको विकल्प अरु नभएको बताए । पार्टीको गत महाधिवेशनमा उनी महासचिवमा झिनो मतले पराजित भएका  थिए । उनी सोही क्षेत्रको हालको सांसद पनि हुन । जिल्लाका पाँच क्षेत्र गाभिएर ३ क्षेत्र बनेपछि वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उच्च नेताले इच्छा देखाएपछि यहाँको चुनावी सरगर्मी निकै बढेर गएको छ ।केन्द्रीय नेता नै जिल्लाबाट निर्वाचन लड्ने भएपछि यहाँको विकास द्रुत गतिमा हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । यसअघि देशको राजधानी र प्रदेशको राजधानीलगायत चर्चा गरिँदै आएको भए पनि ‘छयहत्तरौँ जिल्ला’ले कुनै उपलब्धि लिनसकेको छैन । जिल्लामा तीन लाख ५४ हजार ३५ मतदाता छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?