भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

भारत । उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ । 

बुधबार रातिदेखि आएको सो आँधीका कारण कैयौँ मानिसको मृत्यु भएकोमा बिहीबार मौसम बढी खराम भएपछि थप व्यक्तिको मृत्यु भएको हो । यसअघि यस प्रकोपमा परी ७७ जना व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो । 

भीषण रुपमा आएको हावाहुरीको कारण ढलेको रुख र पर्खालको कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो । 

उत्तर प्रदेश, राजस्थान र पञ्जवा राज्यमा भीषण आँधी आएको हो । यो आँधी २५ वर्षयताको सबैभन्दा भीषण रुपमा रहेको अधिकारीहरुको भनाई छ । 

यस आँधीबाट उत्तर प्रदेशमा १२१, राजस्थानमा २१ र पञ्जावमा प्रान्तमा एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

त्यसमा परी अरु सयौँ व्यक्ति घाइते भएका छन् । घाइते तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन । 

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् । 

ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पुर्याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् । 

आँधीको प्रकोप शुक्रबार पनि देखिएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार पनि हावाहुरीको आउने सम्भावना रहेको जनाएका छन् । 

मानिसहरुलाई घरबाट बाहिर ननिस्कन, सुरक्षितस्थलमा बस्न तथा सतर्कता अपनाउन ती राज्यका नागरिकमा सरकारले सूचना जारी गरेको समाचारमा जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?