चितवनमा बाढीले ३० प्रतिशत धानबालीमा क्षति

लोकपथ
130
Shares

चितवन । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाडो अवस्थामा छैन ।

कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ । भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकामा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए ।

पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेकामा खडा अवस्थाको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ । उनको भनाइमा पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उनले जानकारी दिए।

कार्यालयका प्रमुख युवराज पाण्डेले सबै पालिकामा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भएको बताए । निरन्तरको वर्षाका कारण धानमा ठूलो क्षति भएको उहाँले जानकारी दिए । पानी निरन्तर परिरहेकाले थप क्षति हुनसक्ने आँकलन गरिएको पाण्डे बताउँछन् । विगतका वर्षमा वर्षे धान थन्क्याउने समयमा मौसम राम्रो हुने भए पनि यस वर्ष पानी र हावाहुरीले यहाँको धान प्रभावित भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?