काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा सुरुङ्गा कनकाई नगरपालिका घर भई हाल कामनपा -७ चावहिल बस्ने ३५ वर्षीय निलम भट्टराई रहेका छन् ।
पक्राउ परेका भट्टराईले तनहुँ शुक्लागण्डकी ३० वर्षीया दुर्गा पौडेल न्यौपानेलाई राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिने भन्दै १५ लाख माग गरेका थिए ।
महानगरीय अपराध महाशाखाका अनुसार भट्टराईले न्यौपानेलाई आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत रहेको र आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको भन्दै जागिरका लागि सो रकम माग गरेको खुल्न आएको छ । भट्टराईले जागिरका लागि गृहमन्त्रालयका उच्च अधिकारीहरुलाई बुझाउन पर्ने भन्दै पटकपटक गरी १४ लाख ५० हजार रुपैयाँ रकम लिईसकेपछि जागिर पक्का भयो अब ४५ दिने तालिमको लागि सिन्धुली जानुपर्छ भनी पीडितलाई काठमाडौं बोलाएका थिए ।
न्यौपाने काठमाडौं आएर सम्पर्क गर्दा भट्टराई सम्पर्क विहिन भएको थिए । सो क्रममा आफू ठगिएको भन्दै न्यापानेले महाशाखामा जाहेरी दिएकी थिइन् ।
भागेर सुर्खेतमा बसेका भट्टराईलाई महाशाखाले जिल्ला अदालत काठमाडौंबाट पक्राउका लागि अनुमती लिई मंगलबार सुर्खेत विरेन्द्रनगर बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई काठमाडौं ल्याइ महानगरीय प्रहरी परिसर टेकुमा अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया