सप्तरीमा वर्षाले धानबालीमा क्षति

लोकपथ
117
Shares

राजविराज । लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्‍याएको छ ।

काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् । छिन्नमस्ता गाउँपालिका – ३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताए । जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल, राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसवर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धानबाली लगाइएकोे थियो । वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो । आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने जनाइएको छ । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् । ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरु निरास भएका छन् ।

हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत उठाउन नपाएको उनीहरुको दुखेसो छ । हनुमाननगर कङ्कालिनी–२ का किसान लाल माझीले थन्काउने बेलामा धाननष्ट हुँदा समस्या परेको बताए । उनले भने, “खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?