खेलकुद परिषद्ले गर्यो योजना कार्यान्वयनको जिम्मेवारी बाँडफाँट

लोकपथ
104
Shares

कास्की । गण्डकी प्रदेश खेलकूद परिषद्ले चालू वर्षका योजना कार्यक्रम कार्यान्वयन तथा सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । परिषद्को आज सम्पन्न कार्यकारी समिति बैठकले विभिन्न २८ वटा योजनाका लागि संयोजक तोकेर जिम्मेवारी बाँडफाँट गरेको हो ।

प्रदेशको खेलकुद विकासका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश र सङ्घीय सरकारबाट विभिन्न योजनामा प्राप्त बजेटसँगै योजना कार्यान्वयनका लागि परिषद्का सदस्यलाई जिम्मेवारी सुम्पिएको सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

योजनाको सफलतापूर्वक सञ्चालन गर्न संयोजकसहित तीन सदस्यीय समिति गठन गरेको जनाउँदै परिषद्ले परिषद्का सबै सदस्यलाई जिम्मेवारी दिएको छ । परिषद्ले स्रोतको खोजी गर्दै योजनाको सफल कार्यान्वयनमा लागिपर्ने योजना बनाएको उनले बताए ।

सदस्य सचिव गुरुङले भने, “हामीले तय गरेको चार वटा रणनीतिक आधारस्तम्भ खेलकुद विकासलाई अघि बढाएका छौँ । यस वर्ष सोचे जस्तो गरी बजेट नभए पनि खेलकुद मन्त्रालयसँगको समन्वयमा खेलकुदको विकास योजना अघि बढाउँछौँ ।”

परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङलाई युवा स्वरोजगार कार्यक्रमको संयोजक तोकिएको छ । कार्यकारी सदस्य दिलबहादुर गुरुङलाई विभिन्न योजनाको कार्यविधि, मापदण्ड निर्धारण र खेलाडी कल्याण कोष, कार्यकारी सदस्य ऋषिराम गौतमलाई आधारभूत खेल मैदानको स्तरोन्नति तथा जिल्लामा पूर्वाधारको लगत सङ्कलन गर्ने जिम्मेवारी दिएको छ ।

कार्यकारी सदस्य तारा माया थापा मगरलाई प्रदेशको प्राथमिकताका आधारमा खेलको वर्गीकरण र पोखरा रङ्गशालामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न जिम्मेवारी दिइएको छ । त्यस्तै रेफ्री स्वयंमसेवक प्रशिक्षण, खेलकुद शिक्षकका लागि प्रशिक्षणको संयोजकमा निर्मला बराल ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमअन्तर्गत खगेन्द्र क्षेत्री संयोजक तोकेका छन् ।

प्रदेशभित्र ‘वाटर स्पोर्टस्’को अध्ययन अनुसन्धान, साहसिक खेलकुदको प्रवद्र्धनका लागि वसन्तराज दवाडी, खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा प्रदर्शनका लागि योगिता कुमारी मल्ल सहनी, सक्रिय खेलाडीसँगै पूर्वखेलाडीको व्यक्तिगत र समूहगत तथ्याङ्क र सूचना प्रविधिको संयोजकको जिम्मेवारी केशव पाठकलाई दिइएको छ ।

अपाङ्गता खेलकुदको प्रतियोगिता सञ्चालनका लागि अमृत बराल, ११ वटै जिल्लामा सडक दौड प्रतियोगिता आयोजना गर्ने संयोजकमा योगेन्द्र गुरुङ, पोखरा रङ्गशालाभित्र खानेपानीको व्यवस्थापनका लागि योगेन्द्र शेरचन र खेलकुद पुस्तकालयको स्थापनाका लागि शुभकन्या गुरुङलाई जिम्मेवारी दिइएको छ ।

प्रशिक्षक प्रशिक्षण प्राविधिकतर्फको संयोजकमा कृष्ण तिमिल्सिना र परम्परागत खेलको संरक्षण, प्रवद्र्धन तथा प्रतियोगिता सञ्चालनका लागि रामचन्द्र थापालाई जिम्मेवारी दिइएको सदस्य सचिव गुरुङले जानकारी दिए । यसैगरी पोखरा रङ्गशालामा खेलाडी तथा प्रशिक्षकको स्वास्थ्यलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याइने परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?