सेयर बजारमा ब्याजदर वृद्धिको नकारात्मक प्रभाव, ७७.३३ अंकले घट्यो नेप्से

लोकपथ
676
Shares

काठमाडौं । ब्याजदर वृद्धिको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले हिजो कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेका थिए । जसमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेका थिए ।

ब्याजदर वृद्धि भएसँगै सेयर बजारमा पहिरो गएको छ । बैंकहरुले मुद्दतिमा ११% सम्म ब्याजदर निर्धारण गरेका छन् । ब्याजदर बढेपछि कर्जाको समेत ब्याजदर बढ्ने हुँदा यसको असर बजारमा देखिएको हो ।

आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ७७.३३ अंकले घटेर २५१०.७३ बिन्दुमा पुगेको छ । नेप्से २.९९ प्रतिशतले घटेको हो ।

यता सेन्सेटिभ परिसूचक पनि १३.२८ अंकले घटेर ४७१.९१ बिन्दुमा पुगेको छ ।

मंगलबार कुल २२१ कम्पनीको ९५ लाख ७२ हजार १६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएको छ ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले गर्दा थालिएको बजारले गति लिन नसकेको बेला बजारमा देखिएको तरलता र ब्याजदरले झनै थलिएको छ । ३२ सयको बाटोमा हिडिरहेको बजार अहिले २५ सयमा यात्रा गरिरहेको छ । आज इन्ट्रा डे मा एक सयभन्दा बढी अंकले सेयर बजारमा गिरावट देखिएको थियो । बजार निरन्तर घटेसँगै लगानीकर्ताहरु आत्तिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?