व्यावसायिक छैनन् फिल्मकर्मी, फण्डामा रमाउँदा चिप्लियो फिल्म

लोकपथ
1.5k
Shares

काठमाडौं । कोरोनाले कोल्याप्स भएको फिल्म क्षेत्र बौरिने क्रममा छ । उद्योग भनिए पनि व्यवहारमा उद्योग नबन्दा यस क्षेत्रले अनेकन अवरोध झेल्दै आएको छ ।

कहिलेकाँही कलाकार तथा फिल्मकर्मीको गैरव्यावसायिक अभिव्यक्ति महँगो पर्ने गर्छ । दशैँमा फिल्म लगाउन हानथाप गर्ने निर्माता/निर्देशक ४६ वटा फिल्म होल्डमा राखे । तर, फिल्म ‘डाँडाको वर पीपल’को काम करिब २ महिनामा सकेर निर्देशक शोभित बस्नेतले असोज २६ गतेबाट प्रदर्शन गरे । फिल्म रिलिज गर्दा शोभितको दाबी थियो, ‘जब फिल्म क्षेत्रलाई संकट पर्छ, त्यो समयमा सोभित नै अघि सरेको छ र सर्छ ।’ आफ्नो फिल्म सफल हुने उनको दाबी थियो ।

हल्का बोलेर र सस्ता टिप्पणी गरेर चर्चामा आउने बस्नेतको दाबी असफल भयो । फिल्म हेर्न हलसम्म पुग्ने चेस्टा दर्शकले गरेनन् । बक्स अफिसमा फिल्म नराम्रोसँग चिप्लियो । फिल्मको प्रचारको समयमा ‘महानायक’ विवाद पनि चर्कियो ।

निर्देशक शोभित बस्नेत, नायक भुवन केसी र शिव श्रेष्ठले निकालेको ‘महानायक’को विवाद यसरी चर्कियो कि, शोभितले माफी नै माग्नु पर्यो । राजेश हमालको फोटोलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नै आयोजना गरियो । हमाल र बस्नेतको अन्तर्वार्ता यूट्युब र टेलिभिजनको बिकाउ मसला बन्यो । फिल्म असफल हुनुमा ‘महानायक’ विवादलाई धेरैले कारण मानेका छन् । सामाजिक सञ्जालको टिप्पणीले त्यही देखाउँला ।

टालटुले शैलीले फिल्म बनाउने शैलीमा शोभितले सुुधार गर्न सकेनन् । उनले आफ्नो शक्ति महानायक विवाद निम्त्याउन र समाधान गर्न लगाए । पुरानो कथावस्तुमा पालिस लगाएर निर्माण टिमले पस्कियो ।

शोभितका फिल्मले मल्टिप्लेक्स हलमा दर्शक तान्ने ल्याकत राख्दैनथ्यो । यो फिल्मले पनि सोही नियती भोग्यो । निर्माण पक्षले दर्शकलाई फिल्मको बारेमा बुझाउन सकेन । फिल्मका ट्रेलरले दर्शकलाई आकर्षण गर्न सकेन । नकरात्मक गालीको वर्षाले फिल्मका सकरात्मक पक्षलाई ओझेलमा पार्‍यो ।

योसँगै, हल खुलेपनि अझै पनि दर्शक हलसम्म जानका लागि ढुक्क नहुनुले पनि यसको बक्स अफिसमा केही असर पर्‍यो । वान सिनेमाज्का व्यवस्थापक उमेशराज गिरीले हलमा स्वास्थ्य मापदण्ड पालना गरिएकाले ढुक्क भएर फिल्म हेर्न दर्शकलाई आग्रह गरे । ‘पहिलेभन्दा दर्शक त बढेका छन् आशा गरौँ दर्शल अझै बढ्नेछन् ।’

२ वर्षदेखि पूर्ण रुपमा घाटामा हल सञ्चालन गरिएको उनको भनाइ छ । फिल्मले दर्शक तानेमा ३ महिनामा पुरानो लयमा फर्कने र यस्तै अवस्था रहेमा पुरानो लयमा फर्कन ३ वर्षसम्म लाग्ने गिरीको भनाइ छ ।

घटस्थापनाको दिनबाट फिल्म हल खोल्ने निर्माता संघ, चलचित्र संघ तथा चलचित्र बोर्डको निर्णय भए पनि नयाँ फिल्म नलाग्दा फिल्मी माहोल शून्य प्राय थियो । हल त खुल्यो तर ती हलमा के प्रदर्शन गर्ने भन्नेबारेमा सम्बन्धित निकाय मौन छ । न त फिल्म रिलिजको क्यालेन्डर सार्वजनिक भएको छ, न त निर्माताले लगानी सुरक्षित हुन्छ भन्दै ढुक्क हुने अवस्था छ । हल खुले पनि स्टार भनिएका कलाकारहरुको चासो भने रहेको छैन । संकट मोचन गर्नेभन्दा पनि नेपाली रजतपट कुहिरोको कागझैँ रुमल्लिएको छ । हजारौंको रोजगारी बनेको ५० अर्बको फिल्म क्षेत्र  अझै व्यावसायिक हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?