कुहिन थाले काष्ठमण्डपका काठ, पुनर्निर्माणमा भयो यस्तो लफडा

काठमाडौँ-  भुइँचालो गएको तीन वर्ष पुग्दा पनि विवादका कारण पुनर्निर्माणको काम अघि बढ्न नसक्दा काष्ठमण्डपका काठ कुहिने गरी अलपत्र अवस्थामा पुगेका छन् । वसन्तपुर दरबार क्षेत्रको बाहिर ठाउँ–ठाउँमा राखिएका छन् ।

शिवपार्वती मन्दिरको पश्चिमतिर एक थुप्रो राखिएको छ भने अर्काे थुप्रो दरबार क्षेत्रको ठूलो घन्टा छेउमा । केही हनुमानढोका दरबारभित्र छन् । ‘घामपानीले काठ कुहिन थालेका छन्,’ सम्पदा विज्ञ तेजरत्न ताम्राकारले भने, ‘यो बर्खामा पनि व्यवस्थापन गर्न सकिएन भने अधिकांश कामै नलाग्ने हुन्छन् ।’

बाटोमै अलपत्र छाडिएकाले हराउने डर पनि उत्तिकै छ । ‘गएको शिवरात्रिमा काठ जोगाउन साङ्लोले बाँधेर राख्यौं,’ सम्पदा अभियन्ता सुमना श्रेष्ठले भनिन, ‘बिजोग भइसक्यो । सुरक्षित ठाउँमा राख्नुपर्छ भनेर माग गरेका छौं ।’ यहाँका धेरै काठ काम लाग्ने नै छन् । तर संरक्षण गर्न पुरातत्त्व विभाग, पुनर्निर्माण प्राधिकरणलगायत निकायलाई अनुरोध गरे पनि नसुनेको ताम्राकारले गुनासो गरे, कान्तिपुरमा खबर छ ।
सातौ शताब्दीमा बनेको पुष्टि भएको काष्ठमण्डप अहिले हेर्दा कन्तबिजोग छ । उत्खनन गरेर निकालिएका इँटा यत्रतत्र छरिएका छन् । तार बारले घेरेर भित्र पस्न नमिल्ने बनाइएको छ । बाँसको टेको ठड्याएर जस्ताको छाप्रो बनाइएको छ । बेलायतको डरहम विश्वविद्यालयको टोलीले गत वर्ष उत्खनन गरेपछि यसको जग जोगाउन पानी पस्न नदिनु भनेको थियो । त्यही सल्लाह अनुसार महानगरले छाप्रो हालेको छ । छाप्रो बनाउँदा पनि पुरातात्त्विक मान्यता मिचेको पुरातत्त्वविद्ले गुनासो गरेका छन् । उपत्यकाको सभ्यताकै प्राचीन संरचना हो काष्ठमण्डप । यही सत्तलको नामबाट उपत्यकाको नाम काठमाडौं रहन गएको हो । यही सम्पदा विभिन्न निकायको खिचातानीले पुनर्निर्माणमा अन्योल सिर्जना भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?