गृहिणीमा बढेको तनावलाई यसरी कम गर्न सकिन्छ

लोकपथ
429
Shares

घरका सबै सदस्यहरूको हेरविचार गर्ने गृहिणी (हाउस वाइफ) तपाईँको आमा वा श्रीमती वा भाउजू नै हुनुहुन्छ होला । उनी घर भित्रै बसेर परिवारका सबै सदस्यहरूको सेवामा बिहान देखि बेलुका अबेरसम्म अहोरात्र लागिरहेकी हुन्छिन् । उनको एउटै ध्याउन्न के हुन्छ भने मेरो घरका कुनै पनि सदस्यलाई कुनै किसिमको समस्या नपरोस् भन्ने नै हुन्छ ।

परिवारका प्रत्येक सदस्यलाई खुसी बनाउने क्रममा कहिलेकाहीँ उनीहरू आफैँ आवेगमा समेत आउँछन् । यस्तो अवस्थामा घरका सबै सदस्यले उनलाई नै गलत सोचिरहेका हुन्छन् । यदि बाँकी सदस्यले आज घरको आमा वा श्रीमती वा भाउजू किन तनावमा आउनु भयो भनेर कमै सोच्छन् ।

कामकाजी महिलाहरूको हकमा हेर्ने हो भने उनीहरू कामका लागि घरबाट बाहिर निस्कन्छन् । घर भित्रको तनाव भुल्न अफिस वा बाहिरका साथी भाइ भेटेर समस्या बाँडेर हलुङ्गो पार्छन् । तर घर भित्रै बस्ने गृहिणीले यो अवसर पाउँदिनन् । यस्तो अवस्थामा उनलाई अरू महिलाको तुलनामा बढी नै तनाव भइरहेको हुन्छ ।

गृहिणी महिलालाई धेरै किसिमको तनाव हुने गर्छ । यस्तो अवस्थामा उनीहरू तनावकै कारण एक्लै बस्न रुचाउने खालका हुन्छन् । घर भित्रको तनाव बढ्दै गएमा उनीहरू मिलाउने अवस्थामै हुन्छन् तर विवाद नसुल्झिने अवस्थामा पुग्यो भने उनीहरू पारपाचुके, आत्महत्या गर्ने वा मानसिक समस्याका बिमारी समेत हुन सक्छन् ।

यस्तो किसिमको समस्याबाट जुधिरहेका गृहिणीहरूलाई क्लिनिकल साइकोलोजिस्टहरुले घर भित्रको तनावलाई व्यवस्थापन गर्ने केही उपायहरू सुझावको रूपमा दिएका छन् ।

आफ्नो इच्छालाई पुरा गर्ने

धेरै महिलाहरू विवाह पछि घर परिवारका कारण आफूले विवाह अगाडी राखेका रहरहरू बिर्सिँदै जान्छन् । घरकै बढी कामकाजले उनीहरूले आफ्ना पुराना रहरहरूलाई चाहेर पनि पुरा गर्न भ्याइरहेका हुँदैनन् । यदि घरको कामले तनाव हुन्छ भने आफ्नो पुराना रहरलाई पुरा गर्ने तर्फ लाग्नु पर्छ । यस्ता कामले आत्मविश्वास बढ्नुका साथै तनाव पनि कम हुदैं जान्छ ।

समस्याको पहिचान

घरमै बसेर लामो समय काम गर्ने गृहिणीहरूले आफूलाई के कारणले बढी समस्या भइरहेको छ भन्ने कुरा थाहा पाउनु पर्छ । आफूलाई यही कारणले गर्दा बढी समस्या भइरहेको छ भन्ने लाग्छ भने उक्त समस्यालाई कसरी हटाउने भन्ने विषयमा काम गर्नुपर्छ । यो विषयमा घरका सदस्यहरूसँग पनि सल्लाह लिनु राम्रो हुन्छ ।

नयाँ साथी बनाउने

घरको कामले कुनै गृहिणीलाई बढी नै तनाव हुन्छ भने आफ्नो घर वरिपरिका व्यक्ति, छिमेकीलाई साथी बनाउन सकिन्छ । नयाँ व्यक्तिसँग कुराकानी गर्दा तनाव धेरै कम हुन्छ ।

आफ्नो लागि समय निकाल्ने

गृहिणी भएकै कारण दिनभर घरकै काम गरिरहनु पर्छ भन्ने पनि हुदैंन । यस्तो अवस्थामा आफूले आफ्नो लागि समय निकाल्ने गर्नुपर्छ । यस्तो बेलामा सकारात्मक कुराहरू सोच्ने बानी बसाल्ने, पुस्तकहरू पढ्ने गर्दा पनि घर भित्रको तनावलाई भुल्न सकिन्छ ।

केही कुरालाई छोड्ने

गृहिणी भएको कारण घरको सबै समस्याहरूको समाधान आफू एक्लैले गर्नुपर्छ भन्ने हुदैंन । कतिपय काम र समस्या आफूले समाधान गर्न नसक्ने किसिमका पनि हुन्छन् । यस्ता किसिमका कामलाई जबरजस्ती समाधान गर्छु भन्नु भन्दा त्यसै छोडिदिनु नै उत्तम हुन्छ ।

आफ्नो बारेमा सोच्ने

अधिकांश गृहिणीलाई घरको कामबाट तनाव हुन्छ भने आफ्नो बारेमा पनि सोच्नु पर्छ । आफ्नो बारेमा सोच्दा अनावश्यक तनाव हुदैंन । सोच्ने भनेको अहिले जुन अवस्थामा रहेको घरलाई अझ राम्रो कसरी बनाउने भन्ने जस्ता विषयमा सोचियो भने गृहिणीले आफ्नो मानसिक तनावलाई कम गर्न सक्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?