मोदीको स्वागत गर्न ५० हजार नेपाली नागरिक उतार्ने तयारी

काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रदेश २ को सरकारले ५० हजार नागरिक जनकपुरमा उतार्न सर्कुलर जारी गरेको छ। मोदीलार्इ जनकपुरमा भव्य स्वागत गर्ने तयारीका साथ सरकारले मानवसागर उतार्न लागेको हो ।  

मोदीले जनकपुरमा सम्बोधन गर्ने कार्यक्रम छ । यो कार्यक्रमलार्इ भव्य बनाउन ५० हजार मान्छे उतार्ने लक्षयका साथ प्रदेश सरकारले आठ जिल्लामा सर्कुलरसमेत गरेको छ ।

मोदी यही वैशाख २८ गते पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यसपछि काठमाडौं हुँदै मुस्ताङ जाने तयारी छ । बाह्रबिघा मैदानमा मोदी सवार हेलिकोप्टर अवतरण गर्ने छ ।

मोदीको सुरक्षा व्यवस्थाका लागि जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने  छ । यसबाहेक सुरक्षा अवस्था बुझ्न भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइसकेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

मोदीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?