काठमाडौँ- ठूलो परिमाणमा भइरहेका सुन तस्करी प्रकरणमा पुराना तस्करी घटनामा संलग्नहरू नै सक्रिय रहेको पाइएको छ । संगठित सुन तस्करीबारे गम्भीर अनुसन्धान नहुँदा र तस्करीमा मुछिएकाले सजिलै उन्मुक्ति पाउँदा अवैध स्वर्ण धन्दाको गुप्त कारोबार निर्वाध चलिरहेको देखिन्छ, कान्तिपुरमा खबर छ ।
मुख्यगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने सुन तस्करीमा संलग्न प्रहरीका अलावा भन्सार र अध्यागमन अधिकारीमाथि पनि अनुसन्धान केन्द्रित हुन नसक्दा तस्करीको शृंखला चलिरहेको हो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन कमिटी पनि यसअघिका अनुसन्धान जस्तै तस्करीको एउटा पाटोमाथि मात्रै केन्द्रित हुँदा संगठित स्वर्ण धन्दाको भित्री पाटोमा सक्रियहरू सहजै उम्कने सम्भावना बढेको छ ।
सनम शाक्यको हत्यापछि खुलासा भएको ३३ किलो सुन तस्करीमा मुछिएका प्रहरी अधिकारी र अन्य प्रतिवादीहरू यसअघि पनि संगठित सुन तस्करीमै मुछिएको तथ्य खुलेको छ । २०७३ पुस २१ मा ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन ‘सेटिङ’ मा विमानस्थल भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केहीलाई पक्राउ गरेको थियो ।
उक्त प्रकरणमा विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीको संलग्नता पछिल्लो सुन तस्करीको घटनामा पनि जोडिएको छ । ब्युरोले उनलाई प्रतिवादीका रूपमा अदालतमा पेस गरेको थियो । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार खत्रीको विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादवसँग दैनिक पाँच पटकसम्म फोन वार्ता हुने गरेको देखिएको थियो । अधिकृत यादवले तस्करीको सुन आउने सूचना एसएसपी खत्रीबाट प्राप्त हुने गरेको र सघाएबापत आफूले पनि भाग पाउने गरेको बयानका क्रममा बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया