नाइट क्लबमा छिर्छ साना हतियार : मध्यरातमा सिडिओको छोरामाथि यसरी भयो हमला

काठमाडौं– सोमबार  भक्तपुरको बालकोटका दिनेश जिसीको मोबाइलमा एक साथीको फोन बज्यो ।  जिसीको जन्मदिन भएकाले शुभकामना दिन आएको कल थियो त्यो । त्यहीबीचमा उनीहरुबीच जन्मदिनको अवसरमा रमाइलो गर्ने तय  भयो । योसँगै अन्य साथी समेतलाई  लिएर साँझपख  हान्निए दरबारमार्गतिर । 

उनीहरुको टीममा ५ युवा रहेका थिए ।  बाहिरै मदिरा पिएर राजधानीको दरबारमार्ग  पुगेका उनीहरु त्यहीको भिक्ट्री लाउन्जमा पुग्दा रात छिप्पिसकेको थियो ।  त्यहाँपनि मदिरासँगै  डान्समा रम्दै गर्दा उनीहरुको अर्को समूहसँग विवाद हुन पुग्यो । विवादको कारण थिइन् एकजना युवती । नसाको मातमा रहेको दुबै समूहबिच युवतीको विषयमा समान्य भनाभन भएपछि बाहिरएका उनीहरुलाई  अर्को समूहले फलो गरी हात्तिसारमा चुम्पी प्रहार गरेको बताइएको छ । 

यसरी दुई समूहबीच भएको  सामान्य विवाद चुम्पी हान्नेसम्मको हदमा पुग्दा दिनेशसहित ४ जना घाइते भएका छन् ।  सोमबार मध्यरातमा भएको उक्त  घटनामा दिनेश सहित सूर्यबिनायकका २२ वर्षीय विपीन पौडेल, कोटेश्वरका २२ वर्षीय प्रजिन राई, वानेश्वर खरिबोट बस्ने राजाराम घिमिरे घाइते भएको प्रहरी स्रोतले जनाएको छ । 
प्रहरी स्रोतका अनुसार  चुम्पी प्रहारबाट विपीन सख्त घाइते भएका छन् । उनको टाउको, ढाडलगायतका स्थानमा चोट लागेको बताइएको छ भने राजारामको  फोक्सोमा नै चोट लागेको छ ।  घाइतेको सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

 दिनेश र प्रजिन भने सामान्य घाइते रहेको र सामान्य उपचारपछि घर फर्किएको बताइएको छ । 

स्रोतका अनुसार दिनेश ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका छोरा हुन् ।  हाइप्रोपाइलका छोरामाथि नै मध्यरातमा आक्रमण भएसँगै प्रहरीभित्र खैलाबैला मच्चिएको छ ।  आक्रमणमा परेका दिनेश सिडिओको छोरा भएको खुल्न आएसँगै प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पीडित दिनेशसहितले दिएको बयानको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ । यद्यपी अनुसन्धान प्रक्रिया नै रहेकाले नाम सार्वजनिक गरिएको छैन ।  

घटना महानगरीय प्रहरी बृत्त कमल पोखरीको एरियामा घटेको भएपनि अभियुक्तहरुलाई हाल पक्राउ गरेर दरबारमार्गमा राखिएको र कमलपोखरी पठाउने क्रममा रहेको अपराध महाशाखाका एक अधिकारीले लोकपथलाई जानकारी दिए । उनका अनुसार अन्य अभियुक्तको पनि पहिचान खुलेको र नियन्त्रणमा क्रममा रहेका छन् ।  मध्यरातमा भएको घटना  हत्या गर्ने मनसायले नै  घटाएको देखिन्छ  । किनकी लोकपथलाई प्राप्त  तस्बिरअनुसार घाइतेको शरीरभर अन्धाधुन्द घाउहरु देखिन्छ ।  पीडितका अनुसार आक्रमणकारी समुह ७–८ जनाको संख्यामा रहेका थिए । 

यस विषयमा बुझ्न दिनेशलाई सम्पर्क गर्दा  खासै बोल्न चाहेनन् । उनले आफ्नो जन्मदिन मनाउन साथीहरुसँग  गएको स्वीकारेपनि घटनाबारे केही नबोल्ने बताए । 

पछिल्लो समय राजधानीको  रात्रीकालीन व्यवसाय असुरक्षित बन्दै गएको भनिएको बेला  भिक्ट्रीकै निहुँले ४ युवा घाइते हुनुले रात्रीकालीन व्यवसायलाई कसरी सुरक्षित र भरपर्दो बनाउने भन्नेमा चुनौति देखा परेको छ । 

यसैबीच घटना हात्तिसार आसपारमा भएको भएपनि आफ्नो क्लबमा ग्राहकरुपी अपराधी  साना हतियारसहित छिर्दा वेवास्ता गर्ने दरबारमार्गको भिक्ट्रीलाई समेत अनुसन्धानको दायरमा राखिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?